चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सोमबार बिहान ५ बजे खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ, जसलाई दिउँसो १ बजेसम्म खुलाउने तयारी तीव्र पारिएको छ। पहिरोका कारण तिहार मनाउन घर हिँडेका सयौँ यात्रु बाटोमै अलपत्र परेका छन्।
नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार काठमाडौँतर्फबाट तत्काल पहिरो पन्छाउने काम सुरु गरिएको थियो। मुग्लिनतर्फ भने उपकरण उपलब्ध नभएपछि भरतपुरबाट ल्याएर काम थालिएको उनले बताइन्। अहिले सडकको दुवैतर्फबाट लोडर, एक्साभेटर र जेसीबीसहितका उपकरण परिचालन गरिएको छ।
पृष्ठभूमि
- सोमबार राति १ बजे खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो।
- आइतबार (२०८३ कात्तिक २२) पनि सोही स्थानमा सुक्खा पहिरो खसेर दिनको समयमा केही बेर सडक अवरुद्ध भएको थियो।
पहिरो खसेको स्थान मुग्लिनबाट तीन किलोमिटर मलेखुतर्फ पर्दछ। नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर सचिन्द्र मिश्रका अनुसार सडकभन्दा करिब ३५ मिटर माथिबाट सुक्खा पहिरो खसेकाले सफाइमा कठिनाइ भइरहेको छ। उक्त क्षेत्र कमजोर भएकाले निरन्तर पहिरो खसिरहेको र जुनसुकै बेला फेरि खस्न सक्ने जोखिम कायमै रहेको मिश्रले जानकारी दिए।
अधिकारीले थप पहिरो नखसेमा काम तीव्र गतिमा भइरहेकाले सोमबार दिउँसो १ बजेसम्म सडक सञ्चालनमा आउने अपेक्षा व्यक्त गरेकी छिन्।
यसअघि: घोप्टेभीरमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, खुलाउने प्रयास जारी