ताजा अपडेट: बूढीगण्डकी बाढीले गोरखा–धादिङ जोड्ने आरुघाट पुल बगायो, सडक पूर्ण अवरुद्ध
गोरखामा बुढीगण्डकी बाढीले आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीको फलामे मोटरेबल पक्की पुल तथा आरुघाट गाउँपालिका-९ बाट धादिङ जोड्ने पक्की पुल बगाएपछि सडक पूर्ण अवरुद्ध भएको छ। यस बाढीले चुमनुब्री गाउँपालिका–३ पैयुँ र बगरका करिब ३५ घर बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्।
नेपाल प्रहरीका अनुसार सोमबार बिहान ६ बजेसम्म गोरखाका ती दुई पुल बगाएपछि सडक अवरुद्ध भएको हो। आइतबार बिहान ५:३० बजे गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङको बिचमा रहेको सिरिङ्गे हिमालमा हिमपहिरो गएको थियो। हिमपहिरोपछि स्थानीय उइनगुलुङ खोला थुनिएर बुढीगण्डकी नदीमा बाढी आएको प्रहरीले जनाएको छ।
बाढीले पुर्याएको क्षति र उद्धार
बुढीगण्डकी बाढीले गोरखामा ६ वटा पुल (दुई मोटरेबल र चार झोलुङ्गे) बगाएको छ। गोरखाका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार जगत्, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा पनि क्षति भएको छ। सडक विभागका महानिर्देशक सचिवालयका अनुसार, गोरखाको आरुघाट गाउँपालिका–३ र आरुघाट गाउँपालिका–२ जोड्ने सोती खोलाको ट्रस पुल बाढीले पूर्ण रूपमा बगाएको छ।
गोरखा र धादिङ जोड्ने ६० मिटर ट्रस र २५ मिटर आरसीसी संरचना रहेको आरुघाट पुलको २५ मिटरमध्ये २२ मिटर आरसीसी भाग बाढीले बगाएको छ। पुलको ट्रस भाग भने जोगिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित क्षेत्रबाट ९ जना विदेशी नागरिकसहित ६२ जनालाई नेपाली सेनाका चारवटा हेलिकोप्टरमार्फत उद्धार गरेको जनाएको छ।
प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उड्लुङ खोलाबाट आएको गेग्रानले केही समय नदीको बहाव थुनेपछि बूढीगण्डकीमा ठूलो बाढी आएको प्रारम्भिक विश्लेषण गरिएको छ। बाढी प्रभावित क्षेत्रमा घाइतेको उपचार तथा स्वास्थ्यसम्बन्धी समस्या व्यवस्थापनका लागि गोरखा, लमजुङ र तनहुँका जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली तथा प्रदेश अस्पतालका आकस्मिक चिकित्सकीय टोलीलाई तयारी अवस्थामा राखिएको छ।
प्रभावित क्षेत्रमा नेपाली सेनाका १२७ जना, नेपाल प्रहरीका १४३ जना र सशस्त्र प्रहरी बलका ३६ जना गरी ३०६ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। मनास्लु संरक्षण क्षेत्र आयोजनाले बाढीले मनास्लु संरक्षण क्षेत्र जाने पदमार्ग र झोलुङ्गे पुलमा क्षति पुर्याएपछि सयौँ पर्यटकको आवागमन प्रभावित भएको जनाएको छ। चुमनुब्री गाउँपालिका–३ जगतमा १०० भन्दा बढी विदेशी पर्यटक सुरक्षित स्थानमा रहेका छन् भने लोक्पामा १७ जना र छेकम्पार क्षेत्रमा ४० जना पर्यटक रोकिएका छन्।
एकतर्फी सञ्चालनमा आएका सडक
नेपाल प्रहरीका अनुसार धादिङको धुनिबेसी नगरपालिका-९ खत्रीपौवामा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीमा पहिरोका कारण अवरुद्ध बेनी-जोमसोम सडक खण्ड पनि एकतर्फी सञ्चालनमा आएको छ।
नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका-३ जन्तीमा पहिरोका कारण अवरुद्ध कालीगण्डकी करिडोर पनि एकतर्फी सञ्चालनमा आएको छ, तर उक्त सडकमा ठूला गाडी चल्न नसक्ने प्रहरीले जनाएको छ। मनाङमा बेसीसहर हुँदै खाङसारसम्म जाने सडक पनि एकतर्फी सञ्चालनमा रहेको छ।
धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार, धादिङमा हालसम्म मानवीय क्षति नभएको र नदी किनारका खेत तथा जग्गामा कटान भए पनि अन्य ठूलो भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। बाढीमा लेदोसहित घरजत्रा ठूला चट्टान बगेर आएको उनले बताइन्। बाढी धादिङ पार गर्दै त्रिशूली नदीमा मिसिइसकेको भए पनि नदीको बहाव घट्ने र फेरि बढ्ने क्रम जारी रहेको छ।
जलविद्युत् आयोजनामा क्षति
उर्जा सञ्चारले बाढीले गोरखा र आसपासका क्षेत्रमा निर्माणाधीन चार जलविद्युत् आयोजनामा क्षति पुर्याएको जनाएको छ। ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ भने केही निर्माण उपकरणमा समेत क्षति पुगेको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज २५ गते बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए।
देशभर बाढी-पहिरोको मानवीय क्षति
नेपाल प्रहरीको सोमबार दिउँसोसम्मको तथ्यांकअनुसार, गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी कुल २ सय ५ जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यकामा ५६ जना, कोशी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ सय २५ जना, र लुम्बिनी प्रदेशमा २ जनाको मृत्यु भएको छ।
यसैगरी, काठमाडौं उपत्यकामा २४ जना, कोशी प्रदेशमा १३ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ८५ जना गरी जम्मा १ सय ३० जना घाइते भएका छन्। देशभरबाट कुल ४ हजार २ सय २२ जनाको उद्दार गरिएको छ, जसमा काठमाडौं उपत्यकामा २ हजार १ सय ५५ जना, कोशी प्रदेशमा २ सय ९० जना, मधेस प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ७ सय ४५ जना र गण्डकी प्रदेशमा ९ सय ९७ जना रहेका छन्। बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन्।
आगामी कार्यदिशा
सडक विभागका अनुसार आरुघाट पुलको ट्रस भाग बाँकी रहेकाले त्यसमा बेलिब्रिज राखेर पुनः यातायात सञ्चालन गर्न सकिन्छ कि भन्नेबारे सम्भाव्यता अध्ययन भइरहेको छ। मनास्लु संरक्षण क्षेत्रमा रोकिएका पर्यटकहरूको उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न पहल भइरहेको छ। बाढीबाट भएको थप क्षति तथा मानवीय क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको अधिकारीहरूले बताएका छन्।
यसअघि: बूढीगण्डकी बाढीले गोरखाको सोती र मान्बु जोड्ने मोटरेबल पुल बगायो, हजारौंको जनजीवन प्रभावित
