युरोपका ६ देशमा शिक्षा, महँगी र आवासको बढ्दो लागतविरुद्ध प्रदर्शन चर्किएको छ। फ्रान्समा अक्टोबर १७ मा करिब ८ लाख मानिस सडकमा उत्रिए, जसमध्ये १८०० जना पक्राउ परेका छन्।
इटालीमा विद्यार्थीहरूले धेरै विद्यालयहरूमा कब्जा जमाएका छन् भने ग्रिसमा संसद् भवनअगाडि टेन्ट टाँगेर धर्ना दिएका छन्। स्पेन, बेल्जियम र अल्बानियामा पनि महँगो आवास, शिक्षा बजेट कटौती र बेरोजगारीविरुद्ध आन्दोलन तीव्र बनेको छ।
फ्रान्समा ८ लाखको प्रदर्शन, १८०० पक्राउ
फ्रान्समा विद्यालयहरूको जीर्ण अवस्था, शिक्षकको अभाव र बढ्दो महँगीको विरोधमा अक्टोबर १७ मा १४० सहरमा करिब ८ लाख मानिसले प्रदर्शन गरेका थिए। पेरिस, मार्सेई र बोर्डोसहित धेरै सहरमा तोडफोड र लुटपाट भयो। लिमोजमा १४३ वर्ष पुरानो ऐतिहासिक सिटी हलमा आगजनी गरियो भने १८ अक्टोबरसम्म १८०० जना पक्राउ परे।
प्रधानमन्त्री सेबास्टियन लेकोर्नु र राष्ट्रपति इमानुएल म्याक्रोंले हिंसाको निन्दा गर्दै केही हिंसक समूहले शान्तिपूर्ण प्रदर्शनको फाइदा उठाएको बताएका छन्। प्रदर्शनका क्रममा ५०० भन्दा बढी प्रहरी, सुरक्षाकर्मी र दमकलकर्मी घाइते भएका थिए।
इटाली र ग्रिसमा विद्यार्थीको आक्रोश
इटालीमा विद्यार्थीहरूले शिक्षामा कम सरकारी लगानी, जीर्ण विद्यालय र बढ्दो शैक्षिक खर्चको विरोध गरिरहेका छन्। रोम र ट्युरिनसहित कैयौँ सहरमा विद्यार्थीहरूले विद्यालयहरूमा कब्जा जमाएका छन्। अक्टोबर १६ मा हजारौँ विद्यार्थी रोमस्थित शिक्षा मन्त्रालयतर्फ मार्च गर्दै शिक्षामन्त्री ज्युसेपे भाल्दिताराका निर्णयहरूको विरोध गरे। विद्यार्थी सङ्गठनहरूले अक्टोबर ३० मा राष्ट्रव्यापी हड्तालको घोषणा गरेका छन्।
ग्रिसको राजधानी एथेन्समा विद्यार्थीहरूले संसद् अगाडि टेन्ट टाँगेर प्रदर्शन गरेका छन्। उनीहरू होस्टेलको अभाव, महँगो भाडा र पढाइको बढ्दो खर्चबाट आजित छन्। विद्यार्थी सङ्गठनहरूका अनुसार, देशमा ९६ प्रतिशत विद्यार्थीले होस्टेल सुविधा पाउँदैनन्, जबकि पछिल्लो १० वर्षमा कोठाको भाडा तीन गुणाले बढेको छ।
स्पेन, बेल्जियम र अल्बानियामा संकट
स्पेनमा महँगो घर र बढ्दो भाडाको विरोधमा आन्दोलन कैयौँ सहरमा फैलिएको छ। राजधानी म्याड्रिडको सोल चोकमा प्रदर्शनकारीहरू टेन्ट टाँगेर बसेका छन्। प्रधानमन्त्री पेड्रो सान्चेजको सरकारले आवास सङ्कट समाधान गर्न कदम चाल्ने बताए पनि राजनीतिक सहमति जुट्न सकेको छैन। स्पेनमा नोभेम्बर २९ मा मध्यावधि निर्वाचन हुने घोषणा गरिएको छ।
बेल्जियमको राजधानी ब्रसेल्समा शिक्षा बजेट कटौती र सुधारका प्रयासहरूको विरोधमा विद्यार्थीहरूले मार्च निकालेका थिए। यस क्रममा १५० जनालाई पक्राउ गरियो भने पाँच जना प्रहरी घाइते भए। अल्बानियाको राजधानी तिरानामा महँगो शिक्षा, बेरोजगारी, भ्रष्टाचार र विश्वविद्यालयहरूको जीर्ण अवस्थाविरुद्ध विद्यार्थी आन्दोलन तीव्र भएको छ। अक्टोबर १५ मा हजारौँ युवा शिक्षा मन्त्रालयबाहिर भेला भएर प्रधानमन्त्री एडी रामाको राजीनामा माग गरे। प्रदर्शनका क्रममा सरकारी भवन र बैंकहरूमा आगजनी गरिएका घटना पनि भएका छन्।
आगामी दिनका चुनौती
इटालीमा घोषणा गरिएको राष्ट्रव्यापी हड्ताल र स्पेनमा हुने मध्यावधि निर्वाचनले यी आन्दोलनको दिशा निर्धारण गर्नेछन्। सरकारहरूले नागरिकका मागहरूलाई कसरी सम्बोधन गर्छन् र हिंसात्मक घटनाहरूलाई कसरी नियन्त्रण गर्छन् भन्ने चुनौती कायम छ।
यसअघि: गोरखाको आरुघाटमा बाढीले पुल बगायो, धादिङ जोड्ने सडक पूर्ण अवरुद्ध; तीन जिल्लाका राजमार्ग प्रभावित
