ताजा अपडेट: युरोपका ६ देशमा प्रदर्शन चर्कियो: फ्रान्समा ८ लाख सडकमा, इटालीमा विद्यालय कब्जा
गण्डकी र कर्णाली प्रदेशका तीन जिल्लामा बाढी तथा पहिरोले राजमार्ग अवरुद्ध पारेको छ, गोरखाको आरुघाटमा सडक पूर्ण रूपमा ठप्प छ। नेपाल प्रहरीका अनुसार, म्याग्दी, गोरखा र सुर्खेतका विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक प्रभावित भएका हुन्।
गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा आरुघाट गाउँपालिका–१ नयाँपुल क्षेत्रमा आज बिहान ५ः३० बजेदेखि बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुढीगण्डकी नदीमा आएको बाढीले सो क्षेत्रमा रहेको फलामे पुलमा समस्या आएपछि आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखा, धादिङ, तनहुँ हुँदै चितवनसम्मका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा असोज १ गते बिहान ५ः५० बजेदेखि पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा छ। सडक विभागका अनुसार, यो सडक अझै एक साता पूर्ण रूपमा खुल्ने छैन।
यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा कात्तिक १ गते बिहान ५ः४५ बजेदेखि पहिरो खस्दा कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ।
गोरखाको उत्तरी क्षेत्रमा बग्ने बुढीगण्डकी नदीमा असोज २५ गते आइतबार बिहान आकस्मिक बाढी आएको थियो। प्रारम्भिक अध्ययनअनुसार चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीचको उङ्गिलुङ खोलामा सुक्खा पहिरो खसेर बनेको प्राकृतिक बाँध फुट्दा लेदो, ढुंगा र काठ मिसिएको विनाशकारी बाढी तलतिर बगेको हो।
बुढीगण्डकी नदीमा आएको बाढीले पैयू, बगर, जगत र सल्लेरी क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। पैयू र बगरमा मात्र करिब ३५ देखि ४० घर तथा टहरा बगेका छन् भने १०० भन्दा बढी घरमा बाढी पसेको छ। चुमनुब्री क्षेत्रमा बाढीले घर तथा सवारीसाधन बगाएको खबर आए पनि क्षतिको पुष्टि हुन बाँकी छ। हालसम्म मानवीय क्षतिको आधिकारिक विवरण प्राप्त भएको छैन।
प्रहरीले अवरुद्ध सडक खुलाउने र यातायात सञ्चालन सहज बनाउने प्रयास भइरहेको जनाएको छ। आरुघाटको पुल बगाएपछि सो स्थानमा नयाँ पुल जडान गर्न आइतबार नै पहल सुरु भएको छ। सडक विभागले बाढीले जहाँ जहाँका मोटरेबल पुल बगाएको छ, त्यहाँ तत्काल बेलीब्रिज हाल्न अध्ययन भइरहेको र दसैँको टीकाअघि क्षति भएका सडक पनि बनाएर खोल्ने दाबी गरेको छ।
“सडक विभागले बाढीले जहाँ जहाँका मोटरेबल पुल बगाएको छ, त्यहाँ तत्काल बेलीब्रिज हाल्न अध्ययन भइरहेको छ र दसैँको टीकाअघि क्षति भएका सडक पनि बनाएर खोल्नेछौँ,” सडक विभागले जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मधेश प्रदेशमा भने बाढी र डुबानको जोखिम नरहेको जनाएको छ।
