जेनजी आन्दोलनका क्रममा देशभरका कारागारबाट भागेका ३ हजार ६०५ कैदीबन्दी अझै सम्पर्कविहीन छन्। गम्भीर तथा जघन्य अपराधमा सजाय भोगिरहेका कैदीसमेत फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ।
गत २४ भदौमा भएको आन्दोलनका क्रममा १३ हजार ५८५ कैदीबन्दी फरार भएका थिए। तीमध्ये ९ हजार ९७५ जना कारागार फर्किसकेका छन्। पाँच फरार कैदीको मृत्यु भएको विवरण विभागसँग छ।
नेपाल प्रहरीले देशभर फरार कैदीको खोजी अभियान चलाइरहेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कास्की कारागारबाट भागेका हरिबहादुर गुरुङलाई पक्राउ गर्यो। बलात्कार मुद्दामा १४ वर्ष कैद सजाय पाएका गुरुङ रूपा गाउँपालिका–७, धारापानीबाट पक्राउ परेका हुन्।
प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार फरार कैदीको खोजी निरन्तर छ। केही फरार कैदी जेलबाट भागेपछि पुनः आपराधिक गतिविधिमा संलग्न भएको अवस्थामा पक्राउ परेका छन्।
कारागार व्यवस्थापन विभागले फरार कैदीहरूको विवरण अद्यावधिक गरी स्थानीय तहदेखि राज्यका सबै निकायमा पठाएको छ। उनीहरूको खोजी, पहिचान र पक्राउका लागि सबै निकायबीच समन्वय गर्न विभागले आग्रह गरेको छ।
