NM Khabar 19 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भोटेकोशी बाढीको नामकरण अध्ययन: वैज्ञानिक समिति गठन

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरणका लागि सरकारले वैज्ञानिक समिति गठन गरेको छ। समितिको संयोजकत्वमा जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासे रहेका छन्। बाढीको उत्पत्ति, कारण र जलवायु परिवर्तनको भूमिकाबारे वैज्ञानिक अध्ययन गरी उपयुक्त नाम टुंग्याइनेछ।
Sarita Pandey
Sarita Pandey
19 September 2026, 7:02 am १ मिनेट पढाइ
आकार:
भोटेकोशी बाढी नामकरण
Share:

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरणका लागि वैज्ञानिक अध्ययन प्रक्रिया अगाडि बढाएको छ। यसका लागि सात सदस्यीय विशेष समिति गठन गरिएको छ।

समितिले बाढीको वैज्ञानिक आधार र प्रमाण संकलन गरी उपयुक्त नाम टुंग्याउनेछ। जल तथा ऊर्जा आयोगको सचिवालयले प्रारम्भिक अध्ययनमा ग्लेसियर रक एभलेन्च, आइस रक एभलेन्च/ल्याण्ड स्लाइड, रसुवा भोटेकोशी महाविपत जस्ता नामहरू छलफलमा ल्याएको छ।

जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव टिका बरालले यो विश्वमै दुर्लभ घटना भएको बताए। विस्तृत अध्ययनपछि मात्र निचोडमा पुग्न सकिनेछ। जलवायु विपद्का वैज्ञानिक आधार र प्रमाणहरू संकलन गरिसकेपछि उपयुक्त नामाकरण गरिनेछ।

समितिको संयोजकत्व जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेले गर्नेछन्। सदस्यहरूमा जलविद् डा नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भुगर्भविद् डा मेघराज धिताल, जलविद्युत् पूर्वाधार विज्ञ डा. हरि पण्डित र विपद् जोखिम न्युनीकरण विज्ञ अनिल पोखरेल छन्।

समितिले बाढीको उद्गम स्थलदेखि तटीय क्षेत्रसम्म स्थलगत अध्ययन गर्नेछ। मन्त्रालयले बाढीको उत्पत्ति, हिमाली भू–जोखिमको कारण, घटनाक्रम र जलवायु परिवर्तनको भूमिकाबारे वैज्ञानिक अध्ययन गर्न लागेको हो।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार रसुवा बाढीलाई सामान्य बाढी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका भौगोलिक, हिमनदीय, जलविज्ञानसम्बन्धी जोखिमहरू एकपछि अर्को रूपमा जोडिँदै विकसित भएको ‘श्रृङ्खलाबद्ध विपद्’ का रूपमा अध्ययन गर्नुपर्ने प्रस्ताव जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको थियो। सोही आधारमा मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको हो।

यसअघि जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गरेको प्रारम्भिक अध्ययनमा घटनाको उत्पत्ति, भौतिक प्रक्रिया र तल्लो क्षेत्रमा फैलिएको बारे पर्याप्त वैज्ञानिक प्रमाण भेटिएको थिएन। त्यसैले जलवायु परिवर्तनलाई कारण मान्नुअघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक अध्ययन आवश्यक रहेको सुझाव दिइएको थियो।

अब समष्टिगत रूपमा भूगर्भ, तापक्रम र पानीको समग्र अध्ययन हुनेछ। भोटेकोशी बाढीले त्रिशूली करिडोर प्रभावित पारेजस्तै यस्ता विपद् अन्य नदी प्रणालीमा आउँदा ऊर्जा पूर्वाधारमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले मन्त्रालयले यो अग्रसरता लिएको हो।

यस बाढीबाट ऊर्जा पूर्वाधारमा पुगेको क्षतिको पाठ सिकेर दीर्घकालीन रूपमा पूर्वतयारी गर्ने र जलविद्युत् उत्थानशीलता (जलवायु परिवर्तन, बाढी, खडेरी वा अन्य प्राकृतिक प्रकोपहरूसँग जुध्न सक्ने क्षमता) कसरी कायम गर्ने भन्ने विषयमा पनि अध्ययन हुनेछ।

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार