NM Khabar 23 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी: सेनाको हेलिकप्टर स्ट्यान्डबाइ

बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्रका कारण सुदूरपश्चिममा आगामी शुक्रबारदेखि तीन दिनसम्म अति भारी वर्षाको चेतावनी जारी भएको छ। सम्भावित बाढीपहिरोबाट नागरिकको उद्धारका लागि नेपाली सेनाले हेलिकप्टर स्ट्यान्डबाइ राखेको छ। सशस्त्र प्रहरीले बिदा रद्द गरी उच्च सतर्कता अपनाएको छ।
Sanjay Karki
Sanjay Karki
23 September 2026, 4:32 pm १ मिनेट पढाइ
आकार:
सुदूरपश्चिम भारी वर्षा
Share:

सुदूरपश्चिममा शुक्रबारदेखि तीन दिन अति भारी वर्षाको चेतावनी जारी भएको छ। सम्भावित बाढीपहिरोबाट नागरिकको तत्काल उद्धार गर्न नेपाली सेनाले हेलिकप्टर स्ट्यान्डबाइ राखेको छ। सशस्त्र प्रहरीले बिदा रद्द गरी उच्च सतर्कता अपनाएको छ।

बंगालको खाडीको न्यून चापीय क्षेत्र शक्तिशाली बन्दै गएपछि सुदूरपश्चिममा प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ। जल तथा मौसम विज्ञान कार्यालय अत्तरीयाका निमित्त प्रमुख सञ्जयकुमार शाहका अनुसार बझाङ, बाजुरा, दार्चुला र अछाम उच्च जोखिममा छन्। चुरे क्षेत्रमा समेत भारी वर्षाको सम्भावना छ।

क्षति न्यूनीकरण गर्न सुरक्षा निकाय तयारीमा जुटेका छन्। सशस्त्र प्रहरी बल श्री नं ७ वैद्यनाथ बाहिनी अत्तरीयाका एसएसपी रमेशकुमार पाण्डेयका अनुसार प्रदेशभर १४ अस्थायी विपद् सुरक्षा बेस तयारी अवस्थामा छन्। ‘कर्मचारीलाई बिदा दिइएको छैन, सबै युनिट उच्च सतर्कतामा छन्,’ उनले भने।

नेपाली सेनाले सुदूरपश्चिम पृतनामा हेलिकप्टर तयारी अवस्थामा राखेको छ। जिल्ला प्रशासन कार्यालयहरूले पनि पूर्वतयारी अघि बढाएका छन्। दार्चुलाका प्रजिअ वर्तराज पौडेलले नागरिकलाई पूर्वसूचना पठाइएको बताए। ‘सडक खुलाउन स्काभेटर तयारी छ। जिल्लामा दुई महिनालाई पुग्ने खाद्यान्न बन्दोबस्ती गरिएको छ,’ उनले भने। बझाङका प्रजिअ मुकेशकुमार केशरीले गृह मन्त्रालयसँग समन्वय गरी तयारी बढाएको जानकारी दिए।

विपद् व्यवस्थापन समितिहरूले नदी तटीय र पहिरोको जोखिम भएका बस्तीका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेका छन्।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार