NM Khabar 29 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

चीनका तीन नाका ठप्प: दसैं मुखमा व्यापारी र उपभोक्तालाई महँगीको चिन्ता

चीनसँगका तातोपानी, रसुवागढी र कोरला नाका बाढी र पहिरोका कारण ठप्प भएका छन्। दसैं नजिकिँदै गर्दा सामानको आपूर्ति रोकिएपछि व्यापारी र उपभोक्तालाई मूल्यवृद्धिको चिन्ता छ। पूर्वाधारको अभाव र कूटनीतिक पहलको कमीले नाकाहरू प्रयोगविहीन भएको व्यवसायीहरूको गुनासो छ।
Sunita Rai
Sunita Rai
29 September 2026, 8:02 pm १ मिनेट पढाइ
आकार:
चीन नाका ठप्प
Share:

तीन दिनको लगातारको वर्षा र प्राकृतिक विपत्तिका कारण उत्तरी छिमेकी मुलुक चीनसँगको स्थलगत व्यापार पूर्णरूपमा ठप्प भएको छ। दसैं आउन दुई साता मात्र बाँकी रहँदा चीनसँग जोडिएका प्रमुख तीनवटै व्यापारिक नाका एकपछि अर्को गर्दै बन्द भएपछि स्थलमार्गबाट हुने आपूर्ति शृंखला टुटेको छ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालले चीनबाट ७६ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको भन्सार विभागको तथ्यांक छ। तर, प्रमुख तीनवटै नाका जाने सडक र संरचना भत्किएपछि स्थलमार्गबाट हुने ठूलो परिमाणको व्यापार असम्भव बनेको छ।

पहिरोको जोखिम देखाउँदै चीनले तातोपानी–खासा नाका यसअघि नै बन्द गरेको थियो। १० भदौमा भोटेकोशीको बाढीले रसुवागढी नाकाको भौतिक संरचना ध्वस्त बनायो।

यी दुई मुख्य नाका बन्द भएपछि नेपाल–चीन व्यापारको विकल्प बनेको मुस्ताङको कोरला नाका पनि पछिल्लो बाढीले सडक सम्पर्कबाट विच्छेद भएको छ। कालीगण्डकी नदीको बाढीले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गका पुलका एप्रोच सडक बगाएपछि कोरला नाका पुग्ने बाटो अवरुद्ध भएको हो। कोरला नाका र भन्सार कार्यालय सुरक्षित भए पनि बेनी–जोमसोम सडक खण्डका पुलमा क्षति पुग्दा मालवाहक सवारीसाधनको आवागमन रोकिएको छ।

तातोपानी र रसुवागढी बन्द भएपछि कोरला नाकामा व्यापारिक चाप बढेको थियो। १० देखि २५ भदौसम्मको १५ दिनमा यो नाकाबाट ४ सय ३४ कन्टेनर र ६ सय ४१ विद्युतीय सवारी नेपाल भित्रिएका थिए। चालु आर्थिक वर्षको भदौ अन्तिम सातासम्म मुस्ताङ भन्सारले २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको थियो। अघिल्लो वर्ष १४ अर्ब ४१ करोडको आयात र ३ हजारभन्दा बढी विद्युतीय सवारी भित्र्याएको यो नाकाको बाटो काटिएपछि अर्बौंको व्यापार रोकिएको छ।

नाका बन्द हुँदा चीनबाट कपडा, जुत्ताचप्पल, झोलादेखि इलेक्ट्रोनिक्स र विद्युतीय गाडीसम्मको ढुवानी रोकिएको छ। आरबी कम्प्लेक्स व्यवसायी संघका अध्यक्ष परशुराम दाहालका अनुसार दसैंका लागि ल्याइएका २० देखि ३० प्रतिशत मात्र सामान काठमाडौं आइपुगेको छ। ‘दसैँ लक्षित सामान बाटोमै रोकिएका छन्, गोदाममा भएका सामान कोरला नाकातिरबाट ल्याउन खोजिएको थियो, तर त्यो पनि रोकियो,’ दाहाल भन्छन्, ‘बढीमा ३० प्रतिशत मात्र सामान आइपुगेको छ।’

सामान आयातमा भन्सारको झन्झट नरहे पनि डलरको भाउ र ढुवानी भाडा बढेका कारण मूल्य महँगिने अवस्था छ। ‘डलरको भाउ बढेको छ, बाटो बन्द भएपछि ढुवानी भाडा पनि बढाइएको छ,’ दाहालले भने, ‘भाडा बढेका कारण आउने सामानको मूल्य २५ देखि ३० प्रतिशतसम्म महँगो पर्ने देखिन्छ।’ दाहालका अनुसार ठूला मालबाहक गाडी चल्न नसकेपछि कतिपय व्यवसायीले भारतबाट साना गाडीमा सामान ल्याइरहेका छन्। तर, भारतीय सामान चिनियाँभन्दा महँगो पर्छ। चीनबाट सामान नआए पनि बजारमा पुरानो स्टक र स्वदेशी उत्पादनले केही राहत दिएको छ। लगातार ४–५ दिन पानी पर्दा बाटोघाटो बिग्रिएर बाहिरी जिल्लाका व्यापारी सामान लिन काठमाडौं नआउँदा होलसेल व्यापार ठप्प जस्तै बनेको छ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठ चीनतर्फका तीनवटै नाका बन्द हुँदा व्यवसायी, बजार र आपूर्ति व्यवस्था प्रभावित भएको बताउँछन्। सरकारले कूटनीतिक पहल नगर्दा र चीनले विभिन्न बहाना बनाउँदा अर्बौंको लगानीमा बनेका नाका प्रयोगविहीन भएको उनको भनाइ छ। भूकम्पपछि तातोपानी नाकामा अर्बौं रुपैयाँ खर्च गरेर ड्राइपोर्ट र पार्किङसहितका संरचना बनेका छन्। तर, चिनियाँ पक्षले आन्तरिक कारण देखाएर खुलाउन नचाहेको र नेपाल सरकारले ठोस पहल नगरेको उनी बताउँछन्। ‘कूटनीतिक पहल गरेर तातोपानी नाका तुरुन्त खुलाउनुपर्छ भनेर सरकारलाई भनिसकेका छौं,’ श्रेष्ठले भने, ‘तर, सरकारले किन नाका खुलाउन चाहिरहेको छैन भन्ने बुझ्न सकिएको छैन।’

कोरला नाकामा भन्सार पासमा ढिलासुस्ती र पूर्वाधारको अभाव छ। सुरुवाती १५ दिनमा दैनिक ५० कन्टेनरको भन्सार जाँचपास हुने गरेकोमा अहिले काम सुस्त छ। ‘कोरला नाकामा सरकारको भौतिक संरचना राम्रो छैन, जनशक्ति पनि कम छ,’ उनले भने, ‘सफ्टवेयर र नेटवर्किङको समस्या छ, सर्भर डाउन हुने, नेटवर्क नआउने समस्या एक वर्षदेखि छ।’ भौगोलिक दूरीका कारण कोरला नाकाबाट सामान ल्याउँदा ढुवानी भाडा महँगो पर्छ। केरुङबाट कोरला पुग्न चीनतर्फ १२ सय किलोमिटर घुम्नुपर्छ। कोरलाबाट यता २०० किलोमिटर बिग्रिएको बाटो छ। ‘ट्रान्सपोर्टेसनका कारण एक जोर जुत्ता वा ज्याकेटमा सयदेखि डेढ सय रुपैयाँ महँगो पर्छ,’ श्रेष्ठले भने, ‘सामान महँगो भए पनि बजारमा सहज आपूर्ति हुन्थ्यो, तर अहिले सबै ब्लक भएको छ।’

मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विदुर चुडालका अनुसार अहिले भन्सार पासका लागि डेढ सयभन्दा बढी मालवाहक गाडी र कन्टेनर रोकिएका छन्। यार्डमा र नाकामा गरेर ३ देखि ४ सय ईभी गाडी र कन्टेनर थन्किएका छन्। ‘चीनतर्फबाट गाडीहरूको फ्लो बढे पनि नेपालतर्फको बाटो बन्द भएकाले व्यापारीले भन्सार जाँचपासमा हतार गरेका छैनन्,’ चुडालले भने। बाटो मर्मतका लागि सडक विभागले काम गरिरहेको छ। बाटो खुल्नेबित्तिकै सामान काठमाडौं आइपुग्ने उनले बताए।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार