सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति रोक्का गर्ने तयारी गरेको छ। विभागले जबराको बैंक खाता पनि रोक्का गर्ने प्रक्रिया अघि बढाएको छ।
अनुसन्धानका क्रममा विभागको टोलीले बुधबार (असोज २१ गते) जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नवीन बस्नेतसहित उनका निकटस्थ केही व्यक्तिका घरमा छापा मारेको थियो। यस क्रममा महत्त्वपूर्ण कागजातहरू बरामद गरिएको विभाग स्रोतले Nmkhabarलाई पुष्टि गर्यो। यस विषयमा हाम्रो अघिल्लो समाचार यहाँ पढ्नुहोस्।
विभागले नवराज थपलिया, दिपक तिमल्सिना र नारायण दाहालको निवासमा पनि छापा मारेको थियो। जबरासँग सम्बन्ध देखिएका अर्का व्यक्ति इनम सापकोटालाई भने २०८३ असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी हाल जिल्ला प्रहरी परिसर काठमाडौँको थुनामा राखिएको छ।
यसअघि जबरालाई २०८३ असोज ११ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले महाराजगञ्जस्थित निवासबाट पक्राउ गरी करिब १२ घण्टा नियन्त्रणमा लिएर छाडेको थियो। त्यस घटनापछि सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई जबरा प्रहरी नियन्त्रणमा रहेका बेला अनुमति बिना भेटेको आरोपमा गृह मन्त्रालयले निलम्बन गरेको थियो।
विभागले छापा मार्नुको विस्तृत कारण तथा अनुसन्धानको विषयमा औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन। एआईजी वंशीराज दाहालमाथिको छानबिनको नतिजा पनि अझै आउन बाँकी छ।
यसअघि: सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश जबराका निकटस्थको घरमा छापा मार्यो
