काठमाडौंको बूढानीलकण्ठबाट बिहीबार २१ किलो अवैध सुन बरामद भएको छ। यस घटनामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा उक्त परिणामको सुन बरामद गरेको हो। बरामद भएको सुनमध्ये ११ किलो तयारी अवस्थामा र १० किलो प्रशोधन गर्न बाँकी अवस्थामा फेला परेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूको पहिचान र सुन कहाँबाट ल्याइएको हो भन्ने विस्तृत विवरण खुल्न बाँकी छ। यसअघि पनि बुढानिलकण्ठबाट २१ किलो झोल र ढिक्का सुनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका थिए। प्रहरीले सुन ढिक्का बनाउने मेसिन पनि बरामद गरेको थियो।
नेपालमा सुन तस्करी पञ्चायतकालदेखि नै हुँदै आएको छ। सन् १९७० को दशकपछि सुरु भएको अवैध कारोबार २०६९/०७० मा सरकारले सुनको आयातमा रोक लगाई राष्ट्र बैंकलाई आपूर्तिको जिम्मा दिएपछि झनै बढेको हो। नेपाललाई सुन तस्करीको ट्रान्जिट प्वाइन्टको रूपमा प्रयोग गरिँदै आएको छ।
मधेश प्रदेशको राजधानी जनकपुरधाम पनि सुन तस्करीको मुख्यविन्दु बनेको छ। नेपाल-भारतको खुला सीमानाका कारण धनुषाबाट करोडौं मूल्य बराबरको सुन तस्करी हुँदै आएको छ। भारतमा नेपालभन्दा सुन प्रति तोला १८ हजार रुपैयाँ सस्तो भएकाले तस्करी बढेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि: बुढानिलकण्ठबाट २१ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ
