ताजा अपडेट: बूढानीलकण्ठबाट २१ किलो अवैध सुन बरामद, केही व्यक्ति नियन्त्रणमा
काठमाडौंको बुढानिलकण्ठ क्षेत्रबाट प्रहरीले २१ किलो अवैध सुनसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। बिहीबार दिउँसो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, बरामद गरिएको सुन झोल र ढिक्का दुवै अवस्थामा रहेको छ। उनीहरूले सुनलाई ढिक्का बनाउन प्रयोग गर्ने मेसिन पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका चिनियाँ नागरिकहरूले बुढानिलकण्ठमा फ्लाट भाडामा लिएर केही समयदेखि अवैध सुनको कारोबार गर्दै आएको प्रहरी स्रोतले जनाएको छ। यसअघि उनीहरूले भेपमा झोल बनाएर सुन तस्करी गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको छ।
यसरी ल्याइएको झोल सुनलाई ढिक्का बनाएर बजारमा पठाउने गरेको पाइएको छ। यस घटनामा अन्य को-को संलग्न छन् र सुन कहाँबाट ल्याइएको थियो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चिनियाँ नागरिकहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। अधिकारीहरूको प्रतिक्रिया अझै आएको छैन।
