काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले ६८ किलो २४४.२४ ग्राम चाँदीका गरगहनासहित भारतको बिहारस्थित रक्सौलका १९ वर्षीय अमन सर्राफलाई सोमबार चन्द्रागिरि नगरपालिका–७ बाट पक्राउ गरेको छ। प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार, सर्राफलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि मंगलबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौं पठाइएको छ।
चोरी आरोपमा चार भारतीय नागरिक पक्राउ
यसैबीच, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको कलंकी क्षेत्रमा विभिन्न घरमा चोरी गर्ने चार जना भारतीय नागरिकलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर भई हाल काठमाडौं महानगरपालिका–१३ कालीमाटी बस्ने २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजुकुमार भन्ने राजु पोदार, २३ वर्षीय राजेन्द्र पोदार भन्ने राजेन्द्र कुमार र ४६ वर्षीया विणा देवी रहेका छन्।
प्रहरीका अनुसार, पक्राउ परेकाहरूले कात्तिक ७ गते कलंकीस्थित तासिङडोल मार्गमा बस्ने उर्मिला भन्ने सीता थपलियाको फ्ल्याटमा कोही नभएको मौका पारी ढोकाको ताला फोडेर नगद, सुन तथा चाँदीका गरगहना चोरी गरेका थिए। उनीहरूले कात्तिक ६ गते बिहान कलंकीको रञ्जित कोलोनीस्थित नीरञ्जन नेपालको घरमा समेत चोरी गरेको अनुसन्धानबाट खुलेको छ।
‘घर तथा फ्ल्याटमा कोही नभएको मौका छोपेर ढोकाको ताला फोडी नगद तथा सुनचाँदीका गरगहना चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा चार जना भारतीय नागरिकलाई पक्राउ गरेका छौँ,’ प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए।
पक्राउ परेकाहरूको साथबाट चोरी गरिएका सुन तथा चाँदीका गरगहना र नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
तस्करी र चोरीमा कानुनी कारबाही
मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार चोरीको कसूरमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुन सक्छ। यस्तै, भन्सार छली गर्ने व्यक्तिलाई आर्थिक जरिवाना, सामान जफत वा कैद सजाय हुन सक्छ। अमन सर्राफको हकमा ६८ किलोभन्दा बढी चाँदीको अवैध ओसारपसारले भन्सार छली र तस्करीको गम्भीर आशंका जन्माएको छ। नेपालमा विदेशबाट आउने व्यक्तिले महसुल तिरेर १०० ग्रामसम्म काँचो सुन र पुरुषले २५ ग्राम तथा महिलाले ५० ग्रामसम्म सुनका गहना महसुल नतिरी ल्याउन पाउँछन्। अन्य जवाहिरात जडित सुन वा चाँदीका गहना एक लाख रुपैयाँसम्म महसुल तिरेर ल्याउन पाइन्छ।
प्रहरीले पक्राउ परेका पाँचै जनाको संगठित अपराधमा संलग्नताका बारेमा थप अनुसन्धान गरिरहेको छ। चोरीको आरोपमा पक्राउ परेका चारै जना भारतीय नागरिकलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ।
