नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक प्राप्त गरेको छ।
बेलायतको वेल्सस्थित ब्रेकनमा असोज २१ र २२ गते (अक्टोबर ७ र ८, २०२६) सञ्चालन भएको यस प्रतियोगितामा नेपाली सेनाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हासिल गरेको हो। यस अभ्यासमा संयुक्त अधिराज्य बेलायतसहित ३५ राष्ट्रका १३० टोली सहभागी थिए।
संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
प्रतियोगितामा सहभागी टोलीले करिब ७० पाउन्ड तौल बराबरको उपकरणसहित ४० माइल दूरी दुई दिनभित्र पार गर्नुपर्ने हुन्छ। यस क्रममा हतियार सञ्चालन, सूचना सङ्कलन, घाइते र बिरामीको व्यवस्थापनलगायत विविध सैनिक कलाको परीक्षण गरिन्छ।
सन् २०१४ देखि यस अभ्यासमा सहभागी हुँदै आएको नेपाली सेनाले यसअघि सन् २०१७, २०१९, २०२४ र २०२५ मा पनि स्वर्ण पदक जितिसकेको छ। प्रधानसेनापति सिग्देल असोज १९ गते बेलायती सेनाका प्रधानसेनापति जनरल सर रोली वाकरको निमन्त्रणामा औपचारिक भ्रमणमा प्रस्थान गरेका थिए।
स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीमा को-को सैनिक अधिकारी तथा जवानहरू सहभागी थिए भन्नेबारे विस्तृत जानकारी अझै सार्वजनिक भएको छैन।
