जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ५ का २४ वर्षीय आमिन साफीको छुरा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका टिकटकर मोहम्मद इर्साद खानविरुद्ध यसअघि नै दुईवटा ज्यान मार्ने उद्योगका मुद्दा विचाराधीन रहेको खुलेको छ ।
ती दुवै घटनामा पक्राउ पुर्जी जारी भए पनि उनी पक्राउ पर्न सकेका थिएनन् । टिकटकमा ‘गुण्डा’ नामले परिचित इर्साद दुवै मुद्दामा धरौटीमा रिहा भएको र मुद्दा विचाराधीन अवस्थामा रहेको धनुषा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्रकाश खनालका अनुसार इर्सादले २०८२ फागुन ३ गते जनकपुरधाम उपमहानगरपालिका १४ रजौलका २६ वर्षीय मोहम्मद मुस्तफा राइनमाथि तथा २०८३ जेठ ७ गते जनकपुरधाम ८ का अल्ताफ राइनमाथि खुकुरी प्रहार गरेको आरोप छ । दुवै घटनामा उनीविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ ।
प्रहरीका अनुसार दुवै मुद्दामा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको थियो । इर्सादलाई फरार सूचीमा राखेर खोजी गरिरहेको अवस्थामा आमिन साफीको हत्या प्रकरणमा उनलाई पक्राउ गर्न सफल भएको प्रवक्ता खनालले बताए ।
प्रवक्ता खनालका अनुसार प्रहरी पक्राउ गर्न पुग्दा परिवारका सदस्यले उनलाई भगाइदिने वा प्रहरी आएको सूचना पाएलगत्तै उनी फरार हुने गरेका थिए । यसपटक भने स्थानीयवासीको सहयोगमा घटनास्थलबाटै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुई घटनामा पक्राउ पुर्जी जारी
इर्सादले बकर इदकै दिन मोहम्मद मुस्तफा राइनमाथि खुकुरी प्रहार गरी घाइते बनाएका थिए । मुस्तफाले दिएको जाहेरीअनुसार इर्सादले उनलाई घरमा बोलाएर पसलमा लगेका थिए । त्यहाँ घाँटीमा खुकुरी राखेर काट्ने धम्की दिइएको र मुस्तफा भाग्न खोज्दा पछाडिबाट लखेटेर खुकुरी प्रहार गरिएको आरोप छ ।
उक्त घटनामा मुस्तफाको बायाँ हातमा खुकुरी लागेर उनी घाइते भएका थिए । त्यसपछि उनले इर्सादविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए । प्रहरीले घटनाको अनुसन्धान गर्दै इर्सादविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा अघि बढाएको थियो ।
जिल्ला अदालतबाट गत असार ३१ गते नै पक्राउ पुर्जी लिइएको र त्यसपछि साउन १८ गते जानकी प्रहरी चौकीलाई पत्राचार गरी खोजी तथा पक्राउका लागि आवश्यक पहल गर्न निर्देशन दिइएको प्रवक्ता खनालले जानकारी दिए ।
तर, लामो समयसम्म उनी पक्राउ पर्न सकेनन् । त्यसको केही समयपछि जनकपुरधाम ८ मा अल्ताफ राइनमाथि पनि खुकुरी प्रहार भएको अर्को घटना सार्वजनिक भयो । उक्त घटनामा समेत इर्सादविरुद्ध जाहेरी परेपछि ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको थियो । यस मुद्दामा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।
दुईवटा गम्भीर हिंसात्मक घटनामा आरोपित व्यक्ति लामो समयसम्म पक्राउ नपरेको अवस्थामा पुन: अर्को हत्या प्रकरणमा पक्राउ परेपछि प्रहरीको अनुसन्धान र पक्राउ प्रयासमाथि समेत प्रश्न उठ्न थालेको छ ।
घटनाको कारणबारे अनुसन्धान
बिहीबार साँझ जनकपुरधामस्थित जानकी मन्दिरनजिकै भएको छुरा प्रहारको घटनामा जनकपुरधाम ५ सोनारपट्टीका २४ वर्षीय आमिन साफीको मृत्यु भएको छ । सोही स्थानका २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका छन् ।
घाइते इम्तियाजको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । साफीको हत्या प्रकरणमा इर्सादलाई पक्राउ गरी प्रहरीले घटनाको कारण, प्रयोग गरिएको हतियार तथा अन्य सम्भावित संलग्न व्यक्तिहरूबारे अनुसन्धान अघि बढाएको छ ।
सामाजिक सञ्जालमा ‘गुण्डा’ नामबाट सक्रिय इर्साद टिकटक र फेसबुकमा सक्रिय रहँदै ‘गुण्डा’ र ‘एमडी इर्साद खान’ नामबाट खाता सञ्चालन गर्दै आएका थिए । उनीमाथि सामाजिक सञ्जालमार्फत अर्को समुदायलाई लक्षित गरी घृणा फैलाउने, हिंसालाई प्रोत्साहन गर्ने तथा गालीगलौजयुक्त सामाग्री सार्वजनिक गर्ने आरोप समेत लाग्दै आएको छ । यस्ता गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने माग यसअघि पनि उठ्ने गरेको थियो ।
यद्यपि, सामाजिक सञ्जालमा सार्वजनिक गरिएका सामग्रीको प्रकृति, तिनको कानुनी अवस्था तथा पछिल्लो हत्या प्रकरणसँग तिनको कुनै सम्बन्ध रहे नरहेको विषयमा आधिकारिक अनुसन्धानबाट पुष्टि हुन बाँकी छ । स्थानीयवासीले इर्साद लागुऔषध सेवन गर्ने गरेको दाबी समेत गरेका छन् । तर यससम्बन्धी विवरणको स्वतन्त्र पुष्टि भएको छैन ।
बिहीबारको घटनापछि प्रहरीले इर्सादकी ४२ वर्षीया आमा सैमुख खातुनलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । घटनामा उनको सम्भावित संलग्नता वा भूमिका के थियो भन्नेबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन ।
आमिन साफीको मृत्यु, इम्तियाज राइन गम्भीर घाइते भएको घटना तथा इर्सादविरुद्ध यसअघि दर्ता भएका दुई ज्यान मार्ने उद्योगका मुद्दालाई समेत जोडेर प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनाको वास्तविक कारण, प्रयोग गरिएको हतियार, सम्भावित अन्य संलग्न व्यक्ति र प्रत्येक आरोपितको भूमिकाबारे अनुसन्धानबाट थप तथ्य खुल्ने अपेक्षा गरिएको छ ।
यसअघि: जनकपुरधाम चक्कु प्रहार: आरोपित मोहम्मद इर्साद खानसहित आमा पनि पक्राउ
