भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि संविधान, मतदानको अधिकार र शान्तिपूर्ण विरोध प्रदर्शनलाई नै मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका छन्। उनले भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा बंगलादेश र नेपालको राजनीतिक घटनाक्रमको सन्दर्भ उल्लेख गर्दै भारतमा लोकतान्त्रिक प्रक्रियाबाटै परिवर्तन सम्भव रहेको धारणा राखे।
राजले नागरिकले निर्वाचनमार्फत सरकार परिवर्तन गर्न सक्ने बताएका छन्। उनी सरकारका एक प्रमुख आलोचकका रूपमा चिनिन्छन्। उनले सन् २०२९ मा हुने लोकसभा निर्वाचनसम्म लोकतान्त्रिक माध्यमबाट आफ्नो संघर्ष जारी राख्नुपर्नेमा जोड दिएका छन्।
मतदाता सूचीबाट १३ करोड ३० लाख नाम हटाइयो
प्रकाश राजले दिल्लीमा प्रस्तावित ‘तिरंगा मार्च’ अघि प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको घटनामाथि प्रश्न उठाएका छन्। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध लक्षित उक्त मार्च निर्वाचन प्रक्रियासम्बन्धी विवाद र मतदाता सूचीको विशेष गहन पुनरावलोकन (एसआईआर) मा कथित अनियमितताको विरोधमा आयोजना गर्ने तयारी गरिएको थियो।
प्रदर्शनकारीहरूले निर्वाचन प्रक्रियामा जवाफदेही सुनिश्चित गर्न मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गरेका थिए। भारतको निर्वाचन आयोगले मतदाता नामावली पुनरावलोकनका क्रममा १३ करोड ३० लाखभन्दा बढी मतदाताका नाम हटाइएको जनाएको छ। निर्वाचन अधिकारीहरूले दोहोरो नाम, मृत्यु भएका व्यक्तिको नाम र नक्कली विवरण हटाउने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको बताएका छन्।
विपक्षी दलको आरोप र प्रहरी कारबाही
विपक्षी दलहरूले मतदाता सूचीबाट नाम हटाउने प्रक्रियामा मुस्लिम तथा अन्य अल्पसंख्यक समुदायका मतदाताहरू बढी प्रभावित भएको दाबी गरेका छन्। यस आरोप र प्रदर्शनकारीमाथि गरिएको कारबाहीले भारतमा निर्वाचनको निष्पक्षता तथा नागरिकको विरोध गर्ने अधिकारबारे बहस चर्काएको छ।
दिल्ली प्रहरीले ककरोच जनता पार्टी (CJP) का संस्थापक अभिजीत दीपकेलाई प्रस्तावित तिरंगा यात्रा अघि कनॉट प्लेस र वरपरका क्षेत्रहरूमा धारा १६३ अन्तर्गत निषेधाज्ञा लागू रहेको सूचना दिएको थियो। दिल्लीमा तिरंगा मार्चका क्रममा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप भएको थियो। अखिल भारतीय विद्यार्थी सङ्घ (आइसा) की राष्ट्रिय अध्यक्ष नेहा बोरालाई प्रदर्शनका क्रममा पक्राउ गरी रिहा गरिएको थियो।
संवैधानिक प्रक्रियाको विरासत
प्रकाश राजले डा. भीमराव अम्बेडकर, महात्मा गान्धी र भगत सिंहको विरासत स्मरण गर्दै नागरिक अधिकारको प्रयोग र संवैधानिक प्रक्रियाबाट सरकारलाई जवाफदेही बनाउन सकिने धारणा व्यक्त गरे। उनले जनताको असन्तुष्टि व्यक्त गर्ने अधिकार र लोकतान्त्रिक मूल्यको महत्त्वसमेत औँल्याएका छन्। फिल्म अभिनयसँगै सामाजिक तथा राजनीतिक विषयमा आफ्ना धारणा राख्दै आएका प्रकाश राजको यो पछिल्लो अभिव्यक्तिले राजनीतिक परिवर्तनका लागि संवैधानिक र लोकतान्त्रिक प्रक्रियालाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ।
भारतमा अर्को लोकसभा निर्वाचन सन् २०२९ को अप्रिल-मे सम्ममा हुने सम्भावना छ।
