भिक्टर पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना बुवाको इमानदारी र सरकारी सेवाको यथार्थ पस्कँदै एक भावुक स्ट्याटस लेखेका छन्। उनले बुवाको त्यही सादा जीवन र उच्च विचारले आफूलाई मेहेनत गर्न सिकाएको भन्दै जीवनको भोगाइ सार्वजनिक गरेका हुन्।

समाजमा पैसालाई मात्र सफलता मान्ने प्रवृत्ति हावी भइरहेका बेला उनको यो सन्देशले धेरैको ध्यान तानेको छ। पौडेलले भ्रष्टाचारबाट कमाएको सम्पत्तिले छोराछोरीको भविष्य नबन्ने भन्दै समाजलाई इमानदार बन्न अपिल गरेका छन्।
पौडेलले आफन्तहरूले “तिम्रो बुवाभन्दा जुनियर अफिसरको काठमाडौँमा घर छ, तिमीहरू भाडामा छौ” भनेर खिसी गर्ने गरेको स्मरण गरेका छन्। तर, उनका बुवाले “गलत तरिकाले कमाएको पैसाले सुख दिँदैन” भन्दै आर्थिक संकट पर्दा गाउँको जग्गा वा रुख बेचेर गुजारा चलाएको तर घुस नखाएको उल्लेख गरेका छन्।
बुवाको यही इमानदारी देखेर आफूले कक्षा ८–९ देखि नै फ्रिलान्सिङ (Freelancing) काम गरेर पढाइ खर्च जुटाएको उनले खुलाएका छन्। “यदि मेरो बुवा पनि अरूजस्तै भ्रष्ट भएको भए, सायद म मेहनत नै गर्ने थिइनँ र आज जहाँ छु त्यहाँ पुग्ने थिइनँ,” पौडेलले लेखेका छन्। उनले भ्रष्ट कर्मचारीका छोराछोरी प्रायः ‘नेपो बेबी’ भएर बिग्रिने गरेको यथार्थ पनि औंल्याएका छन्।
समाज बिस्तारै परिवर्तन हुँदै गएको र इमानदारीको कदर हुन थालेको उनको बुझाइ छ। पौडेलले ‘जेन–जी’ (GenZ) आन्दोलनको मर्मलाई आत्मसात् गर्दै भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न नयाँ सरकारलाई आग्रहसमेत गरेका छन्।