गर्भावस्था महिलाको जीवनको एक अत्यन्तै संवेदनशील र महत्वपूर्ण समय हो। यस अवधिमा महिलाहरू केवल शारीरिक परिवर्तनबाट मात्र होइन, गम्भीर भावनात्मक उथलपुथलबाट पनि गुज्रिरहेका हुन्छन्। हर्मोनमा आउने परिवर्तनले गर्दा उनीहरूको स्वभाव, खानपानको रुचि र मनोदशा (Mood) मा बारम्बार उतारचढाव आउने गर्दछ।
यस्तो अवस्थामा गर्भवती महिलालाई सम्हाल्न, ढाडस दिन र मानसिक रूपमा शान्त राख्न सबैभन्दा नजिकको र भरपर्दो साथी ‘श्रीमान्’ नै हुन सक्छन्। श्रीमानको सानो सहयोग र प्रेमले पनि गर्भवती श्रीमतीको तनाव कम गर्न ठूलो मद्दत पुऱ्याउँछ।
भावनात्मक अस्थिरता र श्रीमानको साथ गर्भावस्थामा महिलाहरूमा डर, चिन्ता, दुःख र उत्साह जस्ता मिश्रित भावनाहरू देखिन्छन्। कहिलेकाहीँ सानो कुरामै रुने वा रिसाउने व्यवहारले परिवारमा अन्योल सृजना गर्न सक्छ। यस्तो बेला श्रीमानले श्रीमतीको कुरालाई ध्यानपूर्वक सुन्ने, उनीसँग समय बिताउने र उनीहरूका भावनालाई सम्मान गरिदिने हो भने उनीहरूमा आत्मबल बढ्छ।
खानपान र शारीरिक सहयोग यो समयमा धेरै महिलाहरूको स्वाद फेरिने गर्छ। कतिपयलाई पहिले मनपर्ने खानेकुराको गन्धले पनि वाकवाकी लाग्न सक्छ। यस्तो अवस्थामा श्रीमानले श्रीमतीको रुचि अनुसारको पोषिलो खानाको व्यवस्था गरिदिने, घरको काममा सघाउने र नियमित स्वास्थ्य परीक्षणमा सँगै जाने गर्नाले उनीहरूलाई एक्लो महसुस हुँदैन।