कारागारमा रहेका पूर्वराज्यमन्त्री सञ्जयकुमार साह ‘टकला’ को पक्षमा सामाजिक सञ्जालमा ‘आत्मदाह’ को चेतावनीसहित प्रायोजित विज्ञापन चलाइएको खुलेको छ।
सञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्ड र जनकपुर बम विस्फोटमा दोषी ठहर भई कारागारमा रहेका साहका समर्थकहरूले जनकपुरधाममा सडक प्रदर्शन र जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएलगत्तै न्यायिक निकायमाथि दबाब सिर्जना गर्न फेसबुक र इन्स्टाग्राममा पैसा तिरेर विज्ञापन (बुस्टिङ) सुरु गरेका हुन्।
मेटाको पारदर्शितासम्बन्धी ‘एड लाइब्रेरी’ को विवरणअनुसार ‘Rajessh Mahto’ नामक फेसबुक पेजबाट सञ्जय साहको पक्षमा सक्रिय रूपमा विज्ञापन चलाइएको छ। मेटाको तथ्याङ्कअनुसार उक्त पेजबाट २०८३ मंसिर ९ र ११ गते गरी दुईवटा छुट्टाछुट्टै अभियानमार्फत विज्ञापन ‘लाइभ’ गरिएको थियो।
मेटा एड लाइब्रेरीले देखाएका अभियानहरू
- पहिलो अभियान (Library ID: 2144540323600280): २०८३ मंसिर ९ गते (नोभेम्बर २५, २०२६) देखि सुरु गरिएको यो विज्ञापन फेसबुक र इन्स्टाग्राम दुवै प्लेटफर्ममा चलाइएको छ। एउटै टेक्स्ट र जनकपुर प्रदर्शनको भिडियो प्रयोग गरी यसअन्तर्गत २ वटा विज्ञापन सक्रिय छन्।
- दोस्रो अभियान (Library ID: 1616614989752520): २०८३ मंसिर ११ गते (नोभेम्बर २७, २०२६) देखि सुरु गरिएको यो विज्ञापन फेसबुकमा मात्र लक्षित छ। यसअन्तर्गत पनि २ वटा विज्ञापन सक्रिय छन्, जसमा अनलाइन समाचार पोर्टल ‘रातोपाटी’ को लोगो र समाचार शीर्षक (‘सञ्जय शाहको मुद्दा टुंग्याउन माग, बुझाए ज्ञापनपत्र’) सहितको भिडियो सामग्री प्रयोग गरिएको छ।
विज्ञापनमा आत्मदाहको चेतावनी
पैसा तिरेर फैलाइएको उक्त प्रायोजित सामग्रीमा प्रयोग गरिएको भाषा निकै संवेदनशील र दबाबमूलक छ। विज्ञापनको क्याप्सनमा सञ्जय साहलाई धनुषा जिल्लाका लोकप्रिय नेता र गरिबका नेताका रूपमा चित्रण गर्दै सर्वोच्च अदालतले जनताले समेत सुन्ने गरी प्रत्यक्ष प्रसारणमार्फत मुद्दाको सुनुवाइ गरी छिटो अन्तिम टुङ्गो लगाउन माग गरिएको छ।
प्रायोजित विज्ञापनमै अदालतको निर्णयमा ढिलाइ भए कडा कदम चाल्ने चेतावनी दिइएको छ। विज्ञापनमा ‘अब जनताले अदालतको यो अन्याय सहेर बस्ने छैनन्। जनताले जनसंघर्षका कार्यक्रमहरू सञ्चालन गर्नेछन्। त्यति गर्दा पनि भएन भने जनताहरू आत्मदाह गर्नेसम्मको अवस्थामा पुग्नेछन्’ भनी लेखिएको छ।
न्यायपालिकामा विचाराधीन मुद्दामा प्रभाव पार्ने गरी र ‘आत्मदाह’ जस्तो संवेदनशील विषय उल्लेख गरेर मेटाको प्लेटफर्ममा विज्ञापन स्वीकृत हुनुले सामाजिक सञ्जालको नियमनमाथि प्रश्न उठेको छ।
साहमाथिका विचाराधीन मुद्दा
पूर्वराज्यमन्त्री साहविरुद्ध जनकपुर बम विस्फोट र अरुण सिंघानिया हत्याकाण्डमा दोहोरो जन्मकैदको फैसला भएको छ। उनीविरुद्धका भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत लामो समयदेखि सर्वोच्च अदालतमा विचाराधीन छन्। उनका समर्थकहरूले १२ देखि १३ वर्षभन्दा बढी समय कारागारमा बिताउँदा पनि मुद्दाको अन्तिम किनारा नलागेको भन्दै शीघ्र सुनुवाइको माग गरेका हुन्।
सडक प्रदर्शनको सन्देशलाई आम नागरिकसम्म पुर्याउन र डिजिटल दबाब बढाउन अहिले उनका समर्थकहरूले पेड मिडिया (बुस्टिङ) को सहारा लिएका छन्।
