जुम्लामा पहिलोपटक घरदैलोमै पुगेर राहदानी वितरण सुरु गरिएको छ। यससँगै नागरिकले राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ।
चन्दननाथ नगरपालिका–७ का नेत्रबहादुर खत्री र वडा नम्बर ६ का श्रीबहादुर रोकायाले बिहीबार घरमै राहदानी पाएपछि सेवा सहज भएको प्रतिक्रिया दिएका छन्। यसअघि राहदानी लिन जिल्ला प्रशासन कार्यालय पुग्दा पनि धेरै नागरिक रित्तै फर्किने गरेका थिए।
नयाँ सरकारको शासकीय सुधार कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय जुम्ला र जिल्ला हुलाक कार्यालय जुम्ला बीच समझदारी भएपछि घरमै राहदानी पुर्याउने व्यवस्था सुरु गरिएको हो। प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले दुर्गम जिल्लामा नागरिकले भोग्दै आएको सास्ती कम गर्न यो सेवा प्रभावकारी हुने बताए।
घरदैलोमै राहदानी वितरण गरिने
जुम्लाका धेरै गाउँबाट सदरमुकाम पुग्न अझै एकदेखि दुई दिनसम्म पैदल हिँड्नुपर्ने अवस्था छ। यातायात खर्च र समय अभावका कारण राहदानी बने पनि लिन नसक्ने समस्या रहँदै आएको थियो। प्रशासनका अनुसार हाल जिल्लामा वितरण गर्न ६१ वटा राहदानी तयारी अवस्थामा छन्।
प्रशासनको तयारी छ कि अब जिल्लाका आठवटै स्थानीय तहमा घरदैलोमै राहदानी वितरण गरिनेछ।
