प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी दैलेखका वडा सचिव कमल भण्डारीलाई धम्क्याउने प्रकाश खड्कालाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ।
प्रकाश खड्काले वडा सचिव भण्डारीलाई फोनमार्फत् अभद्र भाषामा धम्की दिएको अडियो सार्वजनिक भएको थियो। प्रधानमन्त्री कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण जनायो। कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले सुरक्षा निकायलाई कारबाही अघि बढाउन कडा निर्देशन दिए।
विज्ञप्तिमा राष्ट्रसेवक कर्मचारीलाई त्रास र दबाबमा पार्ने गतिविधि निन्दनीय रहेको उल्लेख छ। प्रधानमन्त्री कार्यालय वा सचिवालयको नाम लिएर हुने शङ्कास्पद फोन प्रमाणीकरण गर्न आग्रह गरिएको छ।
प्रधानमन्त्री सुशासन, विधिको शासन र राष्ट्रसेवकको व्यावसायिक सुरक्षामा दृढ रहेको कार्यालयले जनायो। सुशासनको महाअभियानमा सम्झौता नहुने, कानुन चुनौती दिनेलाई कडा कारबाही गरिने प्रतिबद्धता छ।
प्रधानमन्त्री कार्यालयले प्रकाश खड्कालाई तत्काल कानूनको दायरामा ल्याई कारबाही प्रक्रिया अगाडि बढाउन सुरक्षा निकायलाई कडा निर्देशन दिएको छ।
