जेठ २ गते शनिबार, युनेस्को विश्व सम्पदा सूचीमा जानकी मन्दिरलाई सूचीकृत गराउन जनकपुरधाममा ‘सम्पदा यात्रा’ आयोजना गरियो।
जानकी मन्दिर प्राङ्गणबाट सुरु भएको यो यात्राले जनकपुरधामका विभिन्न ऐतिहासिक तथा धार्मिक सम्पदाहरूको परिक्रमा गर्दै महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनसम्म पुगेर समापन भएको थियो।
यात्राका क्रममा सहभागीहरूले जानकी मन्दिर, पेठिया बजार, रंगभूमि मैदान, रामजानकी विवाह मण्डप, अरगज्जा पोखरी, राम मन्दिर, धनुष सागर र गंगासागरलगायतका महत्वपूर्ण स्थलहरूको बाजागाजासहित पदयात्रा गरे।
आयोजकका अनुसार, जनकपुरधामको ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्न र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन जनचेतना अभिवृद्धि गर्ने यस यात्राको मुख्य लक्ष्य हो।
यस अभियानमा स्थानीयवासी, युवा, विद्यार्थी, संस्कृति संरक्षणकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो।
