NM Khabar 16 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मर्दी हिमाल पदयात्रामा हराएका पर्यटक मृत फेला, शव उद्धारमा चुनौती

कास्कीको मर्दी हिमाल पदयात्रामा वैशाख ३० देखि हराएका भिक्षु धामिसरो मृत फेला परेका छन्। उनको शव मर्दी हिमालको माथिल्लो भ्युपोइन्टस्थित खोँचमा भेटियो। कठिन भूभागका कारण हेलिकप्टरबाट शव उद्धारमा चुनौती देखिएको छ।
Maya Thapa
Maya Thapa
16 May 2026, 6:06 pm १ मिनेट पढाइ
आकार:
Share:

मर्दी हिमालको दुर्गम खोँचमा वैशाख ३० देखि हराएका भिक्षु धामिसरोको शव आज फेला पर्‍यो, तर उद्धारमा जटिल चुनौती देखिएको छ।

मृत फेला परेका व्यक्ति काठमाडौँको सङ्घाराम बुद्धविहारका भिक्षु धामिसरो रहेको पहिचान भएको छ।

सुरक्षाकर्मी र स्थानीय पर्यटन व्यवसायीको खोजी टोलीले मर्दी हिमालको माथिल्लो भ्युपोइन्टस्थित ठूलो पहाडमुनि खोँचमा शव फेला पारेको छ। मर्दी ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले यो जानकारी दिए।

तामाङका अनुसार, हिउँमा केही डाम देखिए। उद्धार टोलीले सोही आधारमा खोज्दै जाँदा भिरबाट धेरै तल कपडा देख्यो। त्यसपछि तीन घण्टा लगाएर टोली तल झरेको थियो।

अध्यक्ष तामाङले कठिन भौगोलिक अवस्थाका कारण शव उद्धार गर्न नसकिएको बताए। मानिसले बोकेर माथि ल्याउन सकिने अवस्था नरहेको उनको भनाइ छ।

हेलिकप्टरबाट उद्धारका लागि प्रशासन, प्रहरी र गाउँपालिकालाई जानकारी गराइएको थियो। चार घण्टासम्म हेलिकप्टर नआएपछि खोजी टोली हाइक्याम्प फर्किएको तामाङले उल्लेख गरे।

भिक्षु धामिसरो लोक्याम्पमा बास बसेका थिए। भोलिपल्ट उनी ४,२०० मिटर उचाइको मर्दी भ्युपोइन्ट पुगे। उनले आफ्नो झोला ‘टिसप’मा राखेर दृश्यावलोकनका लागि जान्छु भन्दै निस्किएका थिए।

भिक्षु साँझसम्म नफर्किएपछि भोलिपल्ट स्थानीयले खोजी गरेका थिए। दुई दिनसम्म खोजी गर्दा पनि उनी फेला परेका थिएनन्। शनिबार सुरक्षाकर्मी पुगेपछि स्थानीयसहितले पुनः खोजी अघि बढाएका थिए।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार