नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा नेताहरूको कार्यविभाजन गर्न बस्दैछ।
कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार, जेठ २ गतेको बैठक तयारी नपुगेकाले सारिएको थियो। शनिबारका लागि तय भएको बैठक नेताहरू मदन–आश्रित दिवसमा व्यस्त भएकाले आजका लागि सारिएको उनले जानकारी दिए।
११औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकाले आजको मुख्य एजेन्डा यसमै केन्द्रित हुने एक पदाधिकारीले बताएका छन्।
ती पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरूलाई पालिका स्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ। हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन दिइनेछ।
यसैगरी, केन्द्रीय विभाग तथा निकायहरूमा पनि जिम्मेवारी बाँडफाँट गर्ने तयारी छ। आजको बैठकले गत फागुनमा भएको निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति समेत तोक्ने ती पदाधिकारीले जानकारी दिए।
बैठकमा सरकारले हटाएका सुकुमबासी, उनीहरूको व्यवस्थापन र सरकारका कामकारबाहीले जनतामा पारेको नकारात्मक असरबारे छलफल हुने नेताहरूले बताएका छन्। समसामयिक राजनीति एवम् जनपक्षीय विषयमा पनि छलफल हुने बताइएको छ।
