खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत वैशाख ४ गते ‘हिमालयन पिङ्क रक साल्ट’मा आयोडिन नभेटिएको प्रतिवेदन सार्वजनिक गरेपछि चिकित्सक तथा जनस्वास्थ्यकर्मीले आयोडिनविहीन नुन बिक्रीमा तत्काल प्रतिबन्ध माग गरेका छन्। खुला सीमाका कारण भारतीय आयोडिनविहीन नुन बजारमा खुलमखुला बिक्री भइरहेको छ।
सरकारले २०८२ साउन १ गतेदेखि निजी क्षेत्रलाई नुन उत्पादन तथा बिक्रीवितरणमा अनुमति दिएपछि मापदण्डविपरीतका नुन बजारमा फैलिएका छन्। आम उपभोक्ताको स्वास्थ्यमा असर पुर्याउने यस्ता नुनलाई बजार अनुगमन गरी जफत गर्न तीनै तहका सरकारसँग आग्रह गरिएको छ।
बालरोग विशेषज्ञ डा. टङ्क बह्राराकोटीले आयोडिनविहीन नुनको प्रयोग बढ्ने हो भने खासगरी बालबालिका तथा गर्भवतीको स्वास्थ्य जोखिममा पर्न सक्ने औँल्याए। राष्ट्रिय उपभोक्ता मञ्चद्वारा झापामा आयोजित ‘बजारमा उपलब्ध नुनको गुणस्तर र यसको उपभोगबाट हुनसक्ने स्वास्थ्यसम्बन्धी’ कार्यक्रममा उनले आयोडिनविहीन नुनको प्रयोगमा तत्काल प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिए।
डा. बह्राराकोटीले श्रीलङ्काले हाल आयोडिनविहीन नुनले उत्पन्न गरेको जनस्वास्थ्य समस्या भोगिरहेको उदाहरण दिँदै नेपालमा यस्तो नियति आउन दिन नहुने बताए। झापाका बजारमा ‘ब्लाक साल्ट’ नामका भारतीय गुणस्तरहीन र मापदण्डविपरीतका नुन खुला बिक्री वितरण भइरहेका छन्।
भारतीय सरकारले नुनमा उत्पादन तहमा ३० पिपिएम र भान्सामा पुग्दा १५ पिपिएम आयोडिन निर्धारण गरेको छ। विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नेपाल सरकारले विसं २०५७ माघ २३ देखि आयोडिनयुक्त नुन उत्पादन तहमा ५० पिपिएम, बिक्री गर्ने स्थानसम्म आइपुग्दा ३० पिपिएम र उपभोक्ताले प्रयोग गर्दासम्म अनिवार्य १५ पिपिएम हुनुपर्ने नियम कार्यान्वयन गरिरहेको छ।
चिकित्सकका अनुसार आयोडिनयुक्त नुनमा जलांश अधिकतम ६ प्रतिशत, सोडियम क्लोराइड न्यूनतम ९६ प्रतिशत र पानीमा नघुल्ने पदार्थ अधिकतम १ प्रतिशत हुनुपर्छ। यदि ९६ प्रतिशत सोडियम नभएको अवस्थामा रक्तचापसम्बन्धी समस्या हुने गर्छ। साधारण नुनका हकमा पनि जलांश, सोडियम क्लोराइड र अन्य घुलनशील पदार्थको सीमा सरकारले निर्धारण गरेको छ।
तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वअतिरिक्त सचिव डा. बह्राराकोटीले आयोडिन शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषक तत्व भएको बताए। यसले थाइरोइड ग्रन्थीबाट हर्मोन उत्पादन, कोशिका कार्य सञ्चालन, दिमागको वृद्धि र विकासमा सघाउँछ।
उनले बालबालिका तथा गर्भवतीलाई आयोडिन नुनको आवश्यकता पर्ने भन्दै दुई बालबालिका अङ्कित चिह्न भएको आयोडिनयुक्त नुन सही मात्रामा प्रयोग गर्न सुझाव दिए। सरकारले ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ’ भन्दै दुई बालबालिका अङ्कित चिह्न भएको आयोडिनयुक्त नुन मात्र खान आग्रह गर्दै आएको छ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वृजकुमार दासले बालबालिकामा आयोडिनको कमी हुँदा मानसिक विकास राम्ररी नहुने, पढाइमा कमजोर हुने, सुस्त मनस्थिति, बोल्न नसक्ने, आँखा डेढो हुने र शारीरिक विकासमा पनि बाधा पुग्ने बताए। वयस्कमा आयोडिनको कमी भएमा गलगाँड, थाइराइड, मानसिक तथा शारीरिक क्षमतामा कमीजस्ता असर देखिने उनको भनाइ छ।
दासले बालबालिकामा हुने न्यूरोलोजिकल क्रेटिनिज्मको मुख्य कारण आयोडिनको कमी नै भएको र थाइराइडका क्यान्सर, प्रजनन क्षमतामा ह्रास, गर्भपतनजस्ता समस्या पनि देखिन सक्ने जानकारी दिए। यस्तो अवस्थालाई न्यून गर्न साल्ट ट्रेडिङ कर्पोरेसनको दुई बालबालिका अङ्कित चिह्न भएको आयोडिनयुक्त नुन मात्रा मिलाएर प्रयोगमा ल्याउनुपर्नेमा उनले जोड दिए।
बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईँले बजार अनुगमन गरेर स्वास्थ्यलाई प्रत्यक्ष असर पार्ने आयोडिनविहीन नुन बिक्रीवितरण गर्न नदिने प्रतिबद्धता व्यक्त गरिन्। उनले दुई बालबालिका अङ्कित चिह्न भएको आयोडिनयुक्त नुन मात्र भान्सामा सही रूपमा प्रयोग गर्न जनचेतना जगाउनुपर्ने बताइन्।
सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले सीमानाकाका भन्सारबाट नुन आयातमा कडाइ गरिने र आयोडिनविहीन नुन बिक्रीवितरण रोक्न बजार अनुगमन गरिने जानकारी दिए। उनले यसका लागि उपभोक्ता स्वयं सचेत बन्नुपर्नेमा जोड दिए। व्यापारीले अन्य प्रयोजनका लागि भन्दै भन्सारबाट नुन ल्याउने गरेको पाइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग झापाका प्रमुख सुवासचन्द्र ओस्तीले मानव शरीरलाई अत्यावश्यक सूक्ष्म पोषकतत्व आयोडिनयुक्त नुन भएकाले यसको प्रयोगका बारेमा सचेतना आवश्यक पर्ने जनाए। उनले नुन आयातमा अनुमति नदिए पनि बजारमा आयोडिनविहीन नुन देखिने गरेको भन्दै यसलाई निरुत्साहित गर्नुपर्ने बताए।
साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक प्रबन्धक ब्रजेश झाले गत आर्थिक वर्षमा कर्पोरेसनले २ लाख १० हजार टन आयोडिनयुक्त नुन बिक्री वितरण गरेको जानकारी दिए। कर्पोरेसनले नुन आपूर्तिमा तत्काल अवरोध आउन नदिन छ महिनासम्मलाई पुग्ने नुन आफ्ना गोदाममा मौज्दातमा राख्दै आएको र सरकारको कार्यादेशअनुसार नै आयोडिनयुक्त नुनको नियमित आपूर्ति र वितरण हुँदै आएको बताए।
राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले आयोडिनयुक्त नुनको अर्को विकल्प नभएको बताए। उनले तत्काल बजार अनुगमन गरेर आयोडिनविहीन नुन जफत गर्नुपर्नेमा जोड दिए। नुनको बिक्री वितरणमा निजी क्षेत्रलाई प्रवेश गराउँदा उपभोक्ताको स्वास्थ्यमा खेलवाड भएको र बजारमा आयोडिनविहीन नुन देखिन थालेको भन्दै यस्तो अवस्थालाई तत्काल रोक्नुपर्ने उनको भनाइ छ।
गलगाँड उन्मूलन: नेपालको ऐतिहासिक सफलता कसरी जोखिममा?
पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता प्राप्त गरेको छ। सन् १९६५ भन्दा अघिसम्म दुई जनामध्ये एक जनालाई आयोडिनको कमीले विभिन्न किसिमका रोग लाग्ने गर्दथ्यो। अनुसन्धानले ५५ प्रतिशत मानिसलाई गलगाँड भएको पुष्टि गरेपछि सन् १९७३ देखि अनिवार्य रूपमा आयोडिन भएको नुनको आयात गर्न निर्देशन दिइएको थियो।
विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी एवं हिमाली भू–भागका बहुसङ्ख्यक नागरिकले गलगाँड रोगको चरम समस्या झेल्नुपर्दथ्यो। घाँटीको अघिल्लो भागमा गलगाँड नहुनुलाई अस्वाभाविक ठानिन्थ्यो र गलगाँडलाई एक प्रकारले सुन्दरताको प्रतीक मानिन्थ्यो। यस्तो विकृतिका विरुद्धमा सरकारले कण्ठरोग नियन्त्रण कार्यक्रममार्फत आयोडिनयुक्त नुनको वितरण अभियानलाई देशभर सञ्चालन गरेपछि पछिल्लो दशकमा गलगाँडको समस्या शून्यमा झरेको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछिल्लो अध्ययन प्रतिवेदनअनुसार आयोडिनयुक्त नुनको पहुँच लगभग शतप्रतिशत पुग्दा आयोडिनको कमीबाट देखिने गलगाँडको समस्या निवारण भएको हो। सरकारको आयोडिनयुक्त नुनको सर्वसुलभ पहुँच आम नागरिकसम्म पुर्याउने नीति र यस नीतिलाई कार्यान्वयन गर्ने साल्ट ट्रेडिङ कर्पोरेसनको चुस्त वितरण व्यवस्थापनका कारण ग्रामीण क्षेत्रमा गलगाँडको समस्या शून्यमा झरेको थियो।
राष्ट्रिय योजना आयोगद्वारा गरिएको ‘आन्तरिक मूल्याङ्कन प्रतिवेदन २०७३’ अनुसार दुर्गम क्षेत्रमा साल्ट ट्रेडिङ कर्पोरेसनको चुस्त नुन वितरण प्रणालीका कारण कार्यक्रमले सफलता पाएको थियो। दशकमा पहाडी एवं हिमाली क्षेत्रमा आयोडिनको कमीले हुने गलगाँड शून्यमा झरेको छ भने अन्य ‘हाइपरथाइरोइडिज्म’, मानसिक तथा शारीरिक क्षमतामा कमी आउने समस्यामा गिरावट हुँदै गएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७०/०७१ देखि गत आर्थिक वर्षसम्म कण्ठरोग निवारणका कार्यक्रमले शतप्रतिशत नै सफलता प्राप्त गरेको थियो। यसर्थ, गलगाँड निवारणमा नेपालले प्राप्त गरेको ऐतिहासिक सफलतालाई कायम राख्न आयोडिनविहीन नुनको बिक्रीवितरण तत्काल रोक्न र बजार अनुगमनलाई तीव्र पार्न सरोकारवालाहरूले जोड दिएका छन्।
