कृत्रिम व्यवसाय खडा गरी कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउण्डेसनका सञ्चालक समितिका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन्। पाण्डे इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेरिनेरी साइन्सेस प्रा.लि. का सञ्चालक समेत हुन्।
उच्च अदालत पाटनले २०८२ मंसिर २८ गते पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले धनुषा छिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेजको प्राङ्गणबाट उनलाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानमा पाण्डेले इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेरिनेरी साइन्सेस प्रालि नामक कृत्रिम व्यवसाय खडा गरेको खुलेको छ। उनले विस्तृत परियोजना प्रतिवेदन (DPR) बिना र धितोको अस्वभाविक रूपमा बढी मूल्यांकन गरी कर्जा लिएको आरोप छ।
प्रभु बैंकबाट लिएको कर्जा निर्दिष्ट प्रयोजनमा प्रयोग नगरी अन्यत्र खर्च गरेको तथा पटक–पटक कर्जाको दुरुपयोग गरेको समेत अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। कर्जा दुरुपयोगबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
