अर्थमन्त्री वाग्लेको प्रधानमन्त्री साह सरकारको कार्यशैलीप्रति कटाक्ष
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्यको ढुकुटीमा अनावश्यक भार पर्नेगरी ठूलो संख्यामा सल्लाहकार नियुक्त गर्ने परिपाटीको आलोचना गरेका छन्। अर्थमन्त्री वाग्लेको यो असन्तुष्टि प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारको कार्यशैलीप्रतिको कटाक्षका रूपमा हेरिएको छ।
अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजश्व समीक्षा बैठकलाई सम्बोधन गर्ने क्रममा अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा रहेका सल्लाहकारहरूको संख्याप्रति असन्तुष्टि जनाएका हुन्। उनले यस्ता नियुक्तिले राज्यको ढुकुटीमा भार थपिने गरेको बताए।
अर्थमन्त्री वाग्लेले सल्लाहकार नियुक्तिको संख्यात्मक विवरण नखुलाए पनि प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा ठूलो संख्यामा सल्लाहकार राखिएकोमा उनले चिन्ता व्यक्त गरे। उनले भने, “राज्यको ढुकुटीमा अनावश्यक भार पर्नेगरी ठूलो संख्यामा सल्लाहकार नियुक्त गर्ने परिपाटीले समस्या निम्त्याएको छ।”
यस्ता अनावश्यक खर्चले विकास निर्माण तथा अन्य महत्वपूर्ण सरकारी योजनाहरूमा बजेट कटौती गर्नुपर्ने अवस्था आउन सक्ने अर्थमन्त्री वाग्लेले औंल्याए। यसले प्रत्यक्ष रूपमा नागरिकलाई प्रदान गरिने सेवामा असर पर्न सक्ने उनको भनाइ थियो।
