नेपालको बैंकिङ क्षेत्रमा निक्षेप थुप्रिँदा कर्जा प्रवाह सुस्त छ। यसले मुद्दति निक्षेप र कर्जाको ब्याजदर निरन्तर घटाएको छ।
साउन ३१ गतेसम्म बैंकिङ क्षेत्रमा ८२ खर्ब ८० अर्ब निक्षेप संकलन भएको छ। सोही दिनसम्म ५९ खर्ब ४७ अर्ब मात्र कर्जा प्रवाह भएको छ।
गत आर्थिक वर्षको असारसम्म खराब कर्जा औसत बढेको छ। तर, अर्थविद् अनलराज भट्टराईका अनुसार अनिवार्य प्रोभिजनिङ बाहेक बैंकहरूसँग २० खर्बभन्दा बढी लगानीयोग्य तरलता छ।
राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ९० प्रतिशत तोकेको छ। साउन ३१ गतेसम्म यो अनुपात ७१.२३ प्रतिशतमा सीमित छ। पछिल्लो २ वर्षमा औसत सिडि रेसियो घटेको छ। यसले लगानीयोग्य तरलता बढेको देखाउँछ।
