NM Khabar 20 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बारा बालिका हत्या प्रकरण: चन्द्रनिगाहपुरमा युवा सडकमा, महेन्द्र राजमार्ग अवरुद्ध

बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाले रौतहटको चन्द्रनिगाहपुर तातेको छ। युवाहरू सडकमा उत्रिएर महेन्द्र राजमार्ग अवरुद्ध पार्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।
Kamala Devi
Kamala Devi
20 August 2026, 8:32 pm १ मिनेट पढाइ
आकार:
बालिका हत्या प्रदर्शन
Share:

बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा रौतहटको चन्द्रनिगाहपुरमा युवाहरूले दीप प्रज्वलनसहित प्रदर्शन गरेका छन्। बिहीबार साँझ युवाहरू सडकमा उत्रिएका हुन्।

बालिकामाथि भएको जघन्य अपराधको विरोधमा स्वतःस्फूर्त रूपमा सडकमा आएका युवाहरूले चन्द्रनिगाहपुर बजारमा प्रदर्शन गर्दै दबाबस्वरूप केही समय पूर्व-पश्चिम महेन्द्र राजमार्गसमेत अवरुद्ध पारेका थिए। ‘बालिकामाथिको हिंसा बन्द गर’, ‘बलात्कारीलाई कारबाही गर’ जस्ता नारा लगाउँदै प्रदर्शनकारीहरूले घटनामा संलग्न दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिई कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

प्रदर्शनका क्रममा युवाहरूले बालबालिकामाथि हुने यौन हिंसा नियन्त्रणका लागि राज्यले प्रभावकारी सुरक्षा र कडा कानुनी व्यवस्था गर्नुपर्ने माग राखेका छन्। मृत बालिकाप्रति दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। प्रदर्शनका कारण केही समय चन्द्रनिगाहपुर बजार र राजमार्गको सवारी आवागमन प्रभावित भएको थियो।

यसैबीच, बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएपछि आक्रोशित स्थानीयवासी सडकमा उत्रिएका छन्। बालिकाको हत्या घटनामा संलग्नलाई कडा कारबाही गरी न्याय दिलाउन माग गर्दै स्थानीयवासीले बिहीबार बिहान त्रिभुवन राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका हुन्।

बालिकाको हत्याले स्थानीय क्षेत्रमा त्रास र आक्रोश सिर्जना गरेको छ। घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई तत्काल पक्राउ गर्नुपर्ने माग गर्दै स्थानीयवासीले सडकमा प्रदर्शन गरेका हुन्। प्रदर्शनका कारण त्रिभुवन राजमार्गमा सवारी आवागमन प्रभावित भएको थियो। स्थानीयवासीले बालिकाको परिवारलाई न्यायको अनुभूति हुने गरी घटनामा संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्।

प्रदर्शनमा सहभागी स्थानीयले बालिकाको हत्या जस्तो गम्भीर घटनामा अनुसन्धानमा कुनै कमजोरी हुन नहुने बताएका छन्। उनीहरूले दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न प्रहरी तथा प्रशासनसँग माग गरेका छन्। घटनापछि स्थानीय प्रशासन तथा सुरक्षा निकायले घटनाको अनुसन्धान अघि बढाएको छ। स्थानीयवासीको प्रदर्शन र सडक अवरोधका कारण राजमार्गमा आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार