महोत्तरीको बर्दिबास नापी कार्यालयका सर्भेक्षक शिवकुमार साह एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले मंगलबार साहलाई रंगेहात पक्राउ गरेको हो।
जग्गा ट्रायलका लागि निवेदन दिएका सेवाग्राहीसँग साहले लामो समयदेखि घुसको मोलमोलाइ गरिरहेको सूचना अख्तियारलाई प्राप्त भएको थियो। सोही सूचनाका आधारमा अख्तियारको टोलीले निगरानी बढाएको थियो।
मंगलबार अपराह्न करिब ४ बजे नापी कार्यालय अगाडिको एक खाजा घरमा सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिँदै गर्दा साह पक्राउ परेको अख्तियारका सूचना अधिकारी प्रकाश पोखरेलले बताए।
साहलाई नियन्त्रणमा लिएर स्थलगत मुचुल्कालगायतका कानुनी प्रक्रिया अघि बढाइएको पोखरेलले जानकारी दिए।
