हेटौँडा–काठमाडौं सडकखण्डको जुरीखेतमा आज इभी गाडी दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भए।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बाप्र ०३–००१ ज १३७१ नम्बरको इभी गाडी अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
दुर्घटनामा गाडी चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ लालझाडीका ३१ वर्षीय पूर्णबहादुर रुम्बा, तनहुँको बन्दीपुर नगरपालिका–९ का ३८ वर्षीय मनोज गुरुङ र उनकी श्रीमति २८ वर्षीया उषा गुरुङ घाइते भएका छन्।
यस्तै, धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–४ का ४१ वर्षीय विकास झा, भारतको बिहार राज्यस्थित सितामढीका ३४ वर्षीय सोनु रौनियार र उनकी श्रीमति २७ वर्षीया सङ्गीता रौनियार पनि घाइते भएका छन्।
घाइते सबैलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
