भोटेकोसी बाढीमा एक हजार ४१० जनाको शव फेला परेको छ। पाँच हजार १४५ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०३, रसुवामा १९९, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ शव फेला परेको छ। हालसम्म ११० जनाको सनाखत भएको छ।
बाढीपछि १३ हजार ७५६ जनाको उद्धार गरिएको छ। नुवाकोटमा ८३२, रसुवामा ८१७ र धादिङमा ९४ जना नागरिक विभिन्न होल्डिङ सेन्टरमा छन्। मृतक एक हजार २८६ जना तथा आफन्त एक हजार ९४४ जनाको डीएनए नमूना संकलन गरिएको छ।
यसैबीच, रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव फेला परेको छ। गत भदौ १० गतेको बाढीले आयोजनामा ठूलो क्षति पुर्याएको थियो। फेला परेका शवको पहिचान बाँकी छ।
विस्थापित नागरिकलाई सुरक्षित स्थानमा राख्दै राहत व्यवस्थापन भइरहेको छ। सुरक्षा निकाय, स्थानीय तह र विभिन्न निकाय बेपत्ताको खोजी, उद्धार र राहतमा सक्रिय छन्। प्राधिकरणले सम्पर्कविहीनको खोजीलाई प्राथमिकता दिएको छ।
