रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्याएका २० झोलुङ्गे पुलको मर्मत युद्धस्तरमा सुरु भएको छ। गत भदौ १० गतेको बाढीले मुग्लिङदेखि टिमुरेसम्मका ६४ झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुर्याएको थियो।
सरकारी अधिकारीहरूले स्थलगत निरीक्षणपछि ५३ मध्ये २० पुलको तत्काल मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए। यी पुल मर्मतका लागि सरकारले भदौ १७ गते कार्यादेश जारी गरेको थियो। हाल महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुङ्गे पुलको मर्मत कार्यले प्रगति लिएको छ। यी पाँच पुल एक महिनाभित्र सम्पन्न गरिनेछन्।
बाढीले पूर्ण क्षति पुर्याई पुनः निर्माण गर्नुपर्ने ३३ झोलुङ्गे पुलका लागि सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको छ।
