विवादास्पद व्यवसायी दीपक भट्टसहित २९ जनाविरुद्ध २० अर्ब रुपैयाँ बिगो दाबीसहित सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाउन सिफारिस भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यो सिफारिस जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई गरेको हो।
विभागले अनुसन्धान प्रतिवेदन वैशाख दोस्रो साता सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ। प्रतिवेदनले इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङका सुलभ अग्रवाल र उनकी श्रीमती सुभी अग्रवाललाई मुछेको छ। शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल र जगदम्बा ग्रुपका शाहिल अग्रवाल पनि सिफारिसमा परेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाविरुद्ध पनि मुद्दा चलाउन सिफारिस भएको छ।
जावलाखेल ग्रुपका राजबहादुर शाह, हिमालयन रि–इस्योरेन्सकी उपासना पौडेल र रमेश कर्पका रोहित गुप्ता पनि सिफारिसमा छन्। व्यवसायी ऋषिराज मोर र सन्दीप चाचानलगायतविरुद्ध पनि मुद्दा चलाउन विभागले सिफारिस गरेको छ।
उक्त समूहले हिमालयन रि–इन्स्योरेन्ससहित पाँच कम्पनीबाट करिब ३ अर्ब ७३ करोड रुपैयाँ गैरकानुनी रूपमा सारेर प्रतिस्पर्धी कम्पनीमा सेयर खरिद गरेको भेटिएको छ। सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार, प्रतिवेदनको अध्ययन लगभग सकिएको छ। आगामी साता मुद्दा दायर हुने सम्भावना छ। आरोपितविरुद्ध २ देखि १० वर्षसम्म कैद, बिगोबमोजिम जरिवाना र स्रोत नखुलेको सम्पत्ति जफतको माग गरिनेछ।
