सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट पाँचवटा महत्त्वपूर्ण निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका निर्णय सरकारका प्रवक्ता सञ्चारमन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन्।
बैठकले बीउबिजन पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्यो। सशस्त्र प्रहरी बल, नेपालका खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय पनि भयो।
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिनेछ।
नेपाल वायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारीसहित कार्यकारी अध्यक्षमा नियुक्त गरियो।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विगतका आयोगका प्रतिवेदनहरू गृह मन्त्रालयले तत्काल कार्यान्वयन गर्नेछ। सञ्चारमन्त्री पोखरेलले यो जानकारी दिए।
