NM Khabar 29 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

चितवनका बालबालिकामा श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो: स्वास्थ्य कार्यालय

चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको छ। आर्थिक वर्ष २०८२-०८३ मा यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ। स्वास्थ्य कार्यालयले बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन र चिसो, धुवाँ, धुलोबाट बचाउन आग्रह गरेको छ।
Maya Thapa
Maya Thapa
29 September 2026, 8:32 am १ मिनेट पढाइ
आकार:
बालबालिकामा श्वासप्रश्वास सङ्क्रमण
Share:

चितवनका पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको छ। आर्थिक वर्ष २०८२-०८३ मा यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ।

जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक चन्द्रबहादुर हमालका अनुसार गत आर्थिक वर्षमा प्रतिहजार बालबालिकामा ४३१ जनामा यो समस्या देखिएको थियो। यो सङ्ख्या आर्थिक वर्ष २०८१-०८२ मा ३९६ थियो। हरेक वर्ष यस्ता रोगका बालबालिका बढ्दै गएको भन्दै हमालले स्वास्थ्यमा ख्याल गर्न अनुरोध गरे।

यो सङ्क्रमण विशेषगरी आर्थिक अवस्था कमजोर भएका र ग्रामीण क्षेत्रका बालबालिकामा बढी देखिएको छ। इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र माडी नगरपालिका क्षेत्रका बालबालिकामा सङ्क्रमणदर बढ्दो छ। हाल जिल्लामा पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४५ हजार ६०८ छ।

एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकाको श्वासप्रश्वास प्रतिमिनेट ४० पटकभन्दा बढी हुनु हुँदैन। दुई महिनादेखि एक वर्षसम्मकाको ५० पटक र दुई महिनामुनिकाको ६० पटकभन्दा बढी हुनु हुँदैन।

श्वासप्रश्वासमा समस्या देखिँदा रुघाखोकी लाग्ने, निमोनिया हुने, बच्चाको कोखा हानेकोजस्तो हुने र खान मन नगर्ने जस्ता लक्षण देखा पर्छन्। यस्ता जटिल समस्या देखिएका बालबालिकालाई तत्काल नजिकको स्वास्थ्य संस्थामा लगेर परीक्षण गराउनुपर्ने हमालले बताए।

भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. किरण देवकोटाका अनुसार छिटो श्वासप्रश्वास आफैँमा रोग नभई रोगको लक्षण हो। निमोनिया, स्वासनलीमा समस्या वा मौसमी फ्लुका कारणले यो समस्या हुने गर्दछ। सङ्क्रमणबाट बच्न बालबालिकालाई चिसो, धुवाँ र धुलोबाट जोगाउनुपर्ने उनको सुझाव छ।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार