नेपालका बाढी पीडितलाई चीन सरकारले घोषणा गरेको नगद सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ। नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आइतबार अर्थ मन्त्रालयमा साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) बराबरको चेक हस्तान्तरण गरे।
राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ (२ लाख अमेरिकी डलर) नगद पनि बुझाए। हिमालय क्षेत्रमा आएको विनाशकारी प्रलयको सामना दुवै देशले मिलेर गर्ने राजदूत माओमिङले बताए।
चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपालको विपत्तिमा साथ रहेको सन्देश पठाएको उनले जानकारी दिए। चीन सरकारले पठाएको अन्य सहयोग सामग्री पनि भित्रिन सुरु भएको छ।
आइतबार मात्रै दुई चिनियाँ जहाजले ५० टन सहायता सामग्री – टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुट काठमाडौंमा ओरालेका छन्। थप सहयोग निरन्तर गरिनेछ।
रसुवामा बाढीले चीनतर्फ रोकेका नेपालीलाई मुस्ताङको कोरोला नाकाबाट फिर्ता ल्याउन पहल भइरहेको छ। जलविद्युत कम्पनीको सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ हेलिकप्टरसहितको टोली र थप उद्धार प्राविधिकहरू नेपाल आइपुगेका छन्।
नेपाल सरकारले माग गरेको ठूलो सामान बोक्ने ड्रोन ल्याउन चीन सरकारले द्रूत गतिमा काम गरिरहेको छ।
अर्थमन्त्री डा. वाग्लेले चीन सरकारको सहयोगका लागि धन्यवाद ज्ञापन गरे। यो सहयोग अकल्पनीय विपत्तिबाट गुज्रिएको नेपालका लागि महत्वपूर्ण छ।
उनले दुवै मुलुकले भोगेको ठूलो मानवीय र भौतिक क्षतिको सन्दर्भमा चीनले व्यहोरेको क्षतिप्रति दुःख व्यक्त गरे। बाढीमा ज्यान गुमाएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली र उनीहरूका परिवारजनप्रति समवेदना प्रकट गरे।
बढ्दो तापक्रमको विनाशकारी क्षतिबाट हिमालय क्षेत्रका मुलुकहरूले व्यहोर्नुपर्ने अवस्थाको सुरुवात भएको भन्दै उनले सहकार्यको आवश्यकता औंल्याए। बाढीले नेपालले व्यहोरेको क्षतिको पुनर्निर्माणमा चीनबाट ठूलो सहयोगको अपेक्षा छ।
अर्थमन्त्री वाग्ले र राजदूत माओमिङले सहायता हस्तान्तरण कार्यक्रममा दुवै देशका मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मौनधारण गरे।
