चितवनका ४० हजार दुग्ध किसानले ५५ करोड रुपैयाँ भुक्तानी नपाउँदा जीविकोपार्जनमा संकट गहिरिएको छ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार, संस्थानले पुस महिनादेखि भुक्तानी दिएको छैन। निजी उद्योगहरूले तीन महिनादेखिको बक्यौता तिरेका छैनन्। जिल्लाबाट दूध लैजाने २५ प्रतिशत उद्योगले मात्र नियमित भुक्तानी गर्ने गरेका छन्।
जिल्लामा दैनिक ३५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ। यहाँका ११५ वटा दुग्ध उत्पादन सहकारीमार्फत ४० हजार किसानले आफ्नो दूध बिक्री गर्दै आएका छन्।
नयाँ सरकार बनेसँगै उत्साहित बनेका किसानहरू भुक्तानीमा देखिएको समस्याले पुनः निराश बन्न थालेको बगालेले बताए।
भुक्तानी समस्या समाधानका लागि सङ्घले आफ्नै उत्पादन बजारीकरण गर्न तीन स्थानमा डेरी मार्ट सञ्चालनमा ल्याएको छ। यी मार्टहरू भरतपुर महानगरपालिका–१० को दूरसञ्चार रोड, चितवन मेडिकल कलेज पछाडि र वडा नम्बर ३ को बेलचोकमा छन्।
सङ्घको रत्ननगरमा रहेको आफ्नै डेरी उद्योगबाट उत्पादित दूध, घ्यू, पनिर, नौनी, खुवा, मोहीलगायतका दुग्धजन्य वस्तुहरू यी मार्टमार्फत उपभोक्तामाझ पुर्याइँदै आएको छ।
