NM Khabar 15 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

चितवनमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु, दुई गम्भीर

चितवनको इच्छाकामना–१ कुलबाङमा जंगली च्याउ खाँदा ६ वर्षीया नमुना चेपाङको शुक्रबार बिहान घरमै मृत्यु भएको छ। सोही परिवारका १२ वर्षीया मनिता चेपाङ र सजन चेपाङ गम्भीर बिरामी छन्, मनितालाई भेन्टिलेटरमा राखेर उपचार हुँदैछ। डाक्टरका अनुसार जंगली च्याउमा हुने 'एमेनिटा' नामक विषले कलेजो, मिर्गौला र दिमागमा असर गर्छ।
Maya Thapa
Maya Thapa
15 May 2026, 3:05 pm १ मिनेट पढाइ
आकार:
Share:

चितवनको इच्छाकामना–१ कुलबाङमा जंगली च्याउ खाँदा ६ वर्षीया नमुना चेपाङको शुक्रबार बिहान घरमै मृत्यु भएको छ।

नमुना चेपाङ हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिइन्। उनीसँगै च्याउ खाएका १२ वर्षीया दिदी मनिता चेपाङ कक्षा ५ र भाइ सजन चेपाङ कक्षा ३ मा अध्ययनरत छन्। दुवै गम्भीर बिरामी परेकाले भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन एवं सहायक मेसु डा. प्रमोद पौडेलले मनिताको अवस्था गम्भीर रहेको बताए। उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ। सजनको पनि उपचार जारी छ।

गत मंगलबार परिवारका सदस्यहरूले जंगली च्याउ खाएका थिए। बिरामी हुँदा पनि उनीहरू घरमै बसे। शुक्रबार बिहान नमुनाको मृत्यु भएपछि मात्रै गाउँलेहरूले घटनाबारे थाहा पाए।

हात्तीबाङ स्कुलका प्रधानाध्यापक लोकबहादुर मगरले सजन र मनितालाई गाउँले मिलेर अस्पताल ल्याएको बताए। मगरले भने, “हात्तीबाङ स्कुल नजिकै स्वास्थ्य संस्थामा बिहान ल्याएको देखेपछि मैले नै गाडी खोजेर सँगै भरतपुर अस्पताल ल्याएँ। एक जनाको निधन भइसकेकाले दुई जनालाई बचाउन अस्पताल पुर्‍याउन सफल भयौँ, उनीहरूको उपचार भइरहेको छ।”

वडाध्यक्ष सन्तबहादुर मगरले एक जनाको निधन भएपछि अन्य दुई जनालाई हतारहतार अस्पताल पठाइएको जानकारी दिए। अस्पतालले च्याउ खाएका बुबा श्यामबहादुर र आमा पदममाया चेपाङलाई पनि अस्पताल ल्याउन भनेको छ। ठूला मानिसमा पछि लक्षण देखिने भएकाले उनीहरूलाई ल्याउने तयारी भइरहेको प्रधानाध्यापक मगरले बताए।

डा. प्रमोद पौडेलका अनुसार, जंगली च्याउमा ‘एमेनिटा’ नामक विष हुन्छ। यसले कलेजो, दिमाग र मिर्गौलामा असर गरी बिरामीको मृत्यु गराउँछ। अस्पतालले च्याउ खाएका बुबा श्यामबहादुर र आमा पदममाया चेपाङलाई पनि अस्पताल ल्याउन भनेको छ।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार