NM Khabar 3 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

उद्योगी मुन्दडाको निवासमा प्रहरी छापाप्रति सीएन कोशीको आपत्ति

नेपाल उद्योग परिसंघ (सीएन) कोशी प्रदेशले विराटनगरका उद्योगी प्रकाश मुन्दडाको निवासमा प्रहरीले गरेको छापाको कडा शब्दमा भर्त्सना गरेको छ। परिसंघले बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरी करिब साढे पाँच घण्टासम्म मुन्दडाको निवास र कार्यालयमा गरिएको खानतलासीले व्यवसायीको मनोबल खस्केको जनाएको छ। सरकारले अनुसन्धानका क्रममा संवैधानिक हक र मानवीय मर्यादाको सम्मान गर्नुपर्ने र यस घटनाबारे स्पष्ट पार्नुपर्ने परिसंघको माग छ।
Kamala Devi
Kamala Devi
3 August 2026, 8:33 pm १ मिनेट पढाइ
आकार:
प्रकाश मुन्दडा छापा
Share:

विराटनगर । विराटनगरका प्रतिष्ठित व्यवसायी एवं देवराज ग्रुपका सञ्चालक प्रकाश मुन्दडाको निवासमा प्रहरीले गरेको छापाप्रति नेपाल उद्योग परिसंघ (सीएन) कोशी प्रदेशले आपत्ति जनाएको छ । मुन्दडा परिसंघका वरिष्ठ उपाध्यक्ष हुन् ।

परिसंघले सोमबार विज्ञप्ति जारी गर्दै बिहानै ठूलो संख्यामा प्रहरी परिचालन गरी साढे पाँच घण्टासम्म मुन्दडाको निवास र कार्यालयमा गरिएको खानतलासीको भर्त्सना गर्‍यो । परिसंघका अध्यक्ष पवन कुमार सारडाले विज्ञप्तिमा भनेका छन्, ‘बिहान उज्यालो नहुँदै निजी निवास घेराबन्दी गरी परिवार र ज्येष्ठ नागरिकलाई मानसिक दबाबमा राखियो । यसले उद्योगी–व्यवसायी समुदायको मनोबलमा गम्भीर चोट पुर्‍याएको छ ।’

राज्यलाई अनुसन्धानको अधिकार छ । तर, प्रयोग गर्दा संविधानले प्रत्याभूत गरेको गोपनीयता र मानवीय मर्यादाको संरक्षण हुनुपर्ने परिसंघले जोड दिएको छ ।

परिसंघले कुन कानुनी आधारमा खानतलासी गरियो, त्यसको आधिकारिक जानकारी सरकारले सार्वजनिक गर्नुपर्ने माग गरेको छ । साढे पाँच घण्टाको खानतलासीबाट के प्राप्त भयो, त्यो पनि स्पष्ट पार्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

मुलुक आर्थिक मन्दी, लगानी संकुचन र बेरोजगारी जस्ता चुनौती खेपिरहेको छ । यस्तो बेला उद्योगीलाई त्रसित बनाउने गतिविधिले लगानीको वातावरण थप कमजोर बनाउने परिसंघको ठहर छ । विज्ञप्तिमा भनिएको छ, ‘यस्ता शैलीले स्वदेशी–विदेशी लगानी निरुत्साहित हुन्छ । उद्योग–व्यवसाय पलायनको जोखिम बढ्छ ।’

परिसंघले निजी क्षेत्रलाई तर्साउने होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्न सरकारलाई आग्रह गरेको छ । अन्यथा, यस्ता घटनाले सिर्जना गर्ने अविश्वासले मुलुकको आर्थिक विकासमा दीर्घकालीन नकारात्मक प्रभाव पार्नेछ । त्यसको जिम्मेवार सरकार नै हुनेछ ।

परिसंघ विधिको शासन र निष्पक्ष अनुसन्धानप्रति प्रतिबद्ध छ । तर, अनुसन्धानका नाममा नागरिक र लगानीकर्ताको आत्मसम्मानमा क्षति पुर्‍याएको स्वीकार्य नहुने स्पष्ट पारेको छ ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार