नेपाली कांग्रेस रौतहटले पार्टीको १५ औं राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै वडा तहदेखि अधिवेशनको प्रक्रिया अघि बढाउने भएको छ। शनिबार गरुडास्थित जिल्ला कार्यसमितिको विस्तारित बैठकले आइतबारदेखि वडा अधिवेशनको प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो।
जिल्ला सभापति सुनिलकुमार यादवको अध्यक्षतामा बसेको बैठकले वडा तहमा पार्टी संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने निर्णय गरेको जिल्ला कार्यसमितिले जनाएको छ। बैठकमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति एवं मुख्यमन्त्री कृष्णप्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए।
बैठकमा वडा तहदेखि पार्टी संगठनलाई चलायमान बनाउने, स्थानीय तहमा संगठनात्मक गतिविधि विस्तार गर्ने तथा नेता कार्यकर्ताबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। कांग्रेस रौतहटका अनुसार वडा अधिवेशन सम्पन्न भएपछि क्रमशः पालिका, क्षेत्रीय हुँदै जिल्ला अधिवेशनको प्रक्रिया अघि बढाइनेछ।
१५ औं राष्ट्रिय महाधिवेशनलाई सफल बनाउन वडा तहदेखि नै संगठनलाई सुदृढ र व्यवस्थित बनाउँदै लैजाने रणनीति पार्टीले लिएको छ। पार्टी नेताहरूले अधिवेशनलाई संगठन पुनर्गठनसँगै स्थानीय तहमा पार्टीको सक्रियता बढाउने अवसरका रूपमा अघि बढाउने बताएका छन्।
नेपाली कांग्रेस मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले पार्टीको १५ औं राष्ट्रिय महाधिवेशन सफल बनाउन सम्पूर्ण नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक जुट्न आह्वान गरेका छन्। बैठकमा पार्टीको एकता, अनुशासन र संगठन सुदृढीकरणमा जोड दिँदै वडा अधिवेशनलाई उत्साहपूर्वक सफल बनाउन सबै क्रियाशील सदस्य, नेता तथा कार्यकर्तालाई आग्रह गरिएको थियो।
