प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले हालै जारी गरेका अध्यादेशहरूमाथि कडा आपत्ति जनाएको छ। सोमबार प्रतिनिधिसभाको आकस्मिक बैठकमा बोल्दै कांग्रेस सचेतक निश्कल राईले सरकारले अध्यादेशको बाटो रोजेर संसद्लाई कमजोर पार्न खोजेको आरोप लगाइन्।
सचेतक राईले कांग्रेस अध्यादेशको विपक्षमा नरहेको तर संसद्को भावना र आवश्यकताअनुसार ल्याइनुपर्नेमा जोड दिइन्। उनले सरकारलाई अध्यादेशका हरेक दफामा सदनमा जवाफदेही बनाउने र आरामसँग बस्न नदिने चेतावनी दिइन्।
‘दुई तिहाइ नजिकको शक्तिशाली सरकार किन सदनसँग डराएको छ? किन अध्यादेशको बाटो समाएर संसद्लाई कमजोर बनाउन खोजिँदैछ?’ राईले प्रश्न गरिन्। ‘अध्यादेश ल्याउनै हुँदैन भन्ने हाम्रो भनाइ होइन, तर अध्यादेश संसद्को भावना र आवश्यकता अनुसार आउनुपर्छ, सत्ता सहजताको साधन बन्नु हुँदैन। अहिलेको अध्यादेश त्यस अनुकूल छैन। जसको दफा दफामा हामी सदनमा जवाफ खोज्नेछौं। सरकारलाई हाइसञ्चो मानेर बस्न दिँदैनौं।’
उनले सरकार संविधानभन्दा माथि नरहेको दाबी गर्दै संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कुनै फाइदा नपुर्याएको बताइन्। ‘अन्य विषयमा बहस गर्दै गरौंला तर छुटाउनै नहुने विषय हो संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको। यो अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा पुर्याएको छैन। गणपूरक संख्या तोक्ने विषय संविधानको परिकल्पना हुनै सक्दैन’, राईले भनिन्।
उनले ६ सदस्यीय परिषद्मा प्रधानमन्त्रीसहित ३ जनाको निर्णयलाई बहुमत मान्नु संविधानको भावनाविपरीत हुने तर्क गरिन्। ‘अध्यादेशको हरेक कजमा प्रधानमन्त्रीलाई हाइपर पावर दिइएको छ, प्रधानमन्त्रीलाई सहज हुन्छ भनेर संवैधानिक परिषद्को कल्पना संविधानमा गरिएको होइन। जसलाई नेपाली कांग्रेस पार्टी र संसदीय दलको नेताले सात बुँदामा स्पष्ट भाषामा लिखित असहमति जनाएर प्रतिवाद गरिसकेको छ।’
यसैगरी, सांसद राईले सरकारले सुकुमबासी र अव्यवस्थित बसोबासीमाथि डोजर चलाएको विषयमा पनि कडा विरोध गरिन्। उनले राज्य नागरिकप्रति यति कठोर कसरी बन्न सक्छ भन्दै प्रश्न उठाइन्।
‘शहर सुन्दर बनाउने नाममा यो सरकारले डोजर चलायो तर दुर्भाग्य त्यो डोजरले केवल टहरा भत्काएन नागरिकको भरोसा पनि भत्कायो। राज्यले विकासका नाममा विपन्नको छानोमाथि प्रहार गर्यो। अन्तत: खोटाङका इन्द्रबहादुर राईको ज्यान लियो’, सांसद राईले भनिन्। ‘के राज्य यति कठोर हुन सक्छ? के नागरिकको पीडाभन्दा संरचनाको नक्सा ठूलो देखियोस्? के निमुखाको जीवन यति सस्तो भयो कि डोजरको आवाजले उसको चित्कार दबियोस्?’
