डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा जनप्रतिनिधि र नेकपा एमालेका जिल्ला अध्यक्षसहित दर्जनौंले करिब २९ लाख ५३ हजार रुपैयाँ डोजर राजश्व नतिरेको पाइएको छ। यो रकम आर्थिक वर्ष २०८१/०८२ मा मात्रै उठ्न बाँकी हो।
नगरपालिकाले दिएको जानकारीअनुसार, उक्त आर्थिक वर्षमा विभिन्न व्यक्ति तथा स्थानमा पालिकाको डोजर प्रयोग गरेबापत ४२ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन भएको छ। तर, अझै २९ लाख ५३ हजार ४ सय ५५ रुपैयाँ दाखिला हुन बाँकी रहेको छ।
सरकारी साधन प्रयोग गरेबापत दर्जन बढीले लाखौं रकम नतिरेपछि पालिकाको राजश्व संकलनको अवस्था कमजोर बनेको एक कर्मचारीले बताएका छन्। उनले बारम्बार खबर गर्दा पनि राजश्व तिर्न नमानेको गुनासो गरे।
पालिकाका अनुसार, डोजर प्रयोग गरेबापत प्रति घण्टा ८ हजार रुपैयाँका दरले राजश्व लिइन्छ।
त्रिपुरासुन्दरी १ का वडा अध्यक्ष रामचन्द्र कुलालले पालिकाको डोजर ३ घण्टा प्रयोग गरेबापतको २४ हजार रुपैयाँ राजश्व दाखिला गर्न बाँकी छ। अध्यक्ष कुलालले डोजर प्रयोग गरेको स्वीकार गर्दै तिर्ने तयारीमा रहेको बताएका छन्।
त्यस्तै, नेकपा एमालेका जिल्ला अध्यक्ष लंक रोकायले ६ घण्टा डोजर प्रयोग गरेबापतको ४८ हजार रुपैयाँ राजश्व तिरेका छैनन्। यस्तै, त्रिपुरासुन्दरी ७ का वडा अध्यक्षको आदेशमा काम भएको भन्दै ५ घण्टाको ४० हजार रुपैयाँसमेत उठ्न बाँकी रहेको पालिकाले उल्लेख गरेको छ।
यी व्यक्तिहरू मात्र नभई, जिल्ला भित्रका निर्माण व्यवसायीदेखि स्थानीय र केही कार्यालयहरूसमेत पालिकाको डोजर प्रयोग गरेबापतको लाखौं रकम तिर्न बाँकी छ। नगरपालिकाले राजश्व दाखिलाको लागि बारम्बार पत्र पठाए पनि कसैले वास्ता नगरेको पालिकाको भनाइ छ।
चालु आर्थिक वर्ष २०८२/८३ मा समेत धेरैले पालिकाको डोजर प्रयोग गरेको र लाखौंको हाराहारीमा राजश्व उठाउन बाँकी रहेको पालिकाले जनाएको छ। ठूलो रकम अझै दाखिला हुन बाँकी रहेपछि राजश्व संकलन र उपकरण प्रयोग व्यवस्थापनमा समस्या भइरहेको नगरपालिकाले जानकारी दिएको छ।
