डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर भागेका आठ जना कैदीबन्दीमध्ये प्रहरीले छ जनालाई पक्राउ गरेको छ। आइतबार (२०८३ कात्तिक २२ गते) थप दुई जना कैदीबन्दी पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या छ पुगेको हो।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पाका हरिबहादुर बुढा र जाजरकोटका यज्ञ विक रहेका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार उनीहरू दुवै जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन्। उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ रङगाउँभन्दा माथिको जंगलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो।
यसअघि कात्तिक १८ गते डोल्पाका कालीप्रसाद रोकाय र जाजरकोटका कपिल परियारलाई त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पास्थित रङगाउँमा कमला बुढाको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो। त्यसअघि कात्तिक १७ गते रुकुमपश्चिमका रामबहादुर विक र सल्यानका रेशम राना पक्राउ परेका थिए।
कारागारबाट फरार र अनुसन्धान
डोल्पा जिल्ला कारागारबाट कात्तिक १४ गते सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका थिए। कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्ड भत्काएर करिब साढे तीन मिटर लामो सुरुङ खनेर उनीहरू भागेका थिए। फरार भएकामध्ये पाँच जना जबर्जस्ती करणी मुद्दामा र तीन जना चोरी मुद्दामा कारागारमा थिए।
फरार रहेका बाँकी दुई कैदीबन्दी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर–३ का आदेश भण्डारी हुन्। उनीहरू चोरी मुद्दामा थुनामा रहेका थिए। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार फरार यी दुई कैदीबन्दीको खोजीकार्य भइरहेको छ।
यस घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। साथै, कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटासहित एसएसपी राजीव बस्नेतको नेतृत्वमा केन्द्रीय प्रहरी टोली डोल्पा पुगेको छ। यो टोलीले कारागारको सुरक्षा व्यवस्था, कैदीबन्दी फरार हुनुअघिको अवस्था तथा सुरक्षाकर्मीको जिम्मेवारी र निगरानीमा भएको कमजोरीबारे स्थलगत अध्ययन गर्नेछ।
पक्राउ परेका हरिबहादुर बुढा र यज्ञ विकलाई कारागारमा फर्काउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। सुरुङ खन्ने क्रममा प्रयोग गरिएका सामग्री, सुरक्षाकर्मीको निगरानीमा भएको कमजोरी र फरार कैदीहरू कसरी कारागारबाट बाहिरिन सफल भए भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।