विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि सात उमेदवार अन्तिम प्रतिस्पर्धामा छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको नियुक्ति सिफारिस समितिले असार ३ गते सूचना प्रकाशन गरी उनीहरूको नाम सार्वजनिक गरेको हो।
न्यूनतम शैक्षिक योग्यता, कार्य अनुभव र व्यावसायिक कार्ययोजनामा ५० प्रतिशतभन्दा बढी अंक ल्याउनेहरूलाई अन्तर्वार्ताका लागि छनोट गरिएको समितिले जनाएको छ। छनोट हुनेमा केशवध्वज अधिकारी, डा. रामप्रसाद धिताल, मधुप्रसाद भेटवाल, मोतीबहादुर कुँवर, डा. मधुसूदन अधिकारी, डा. भोलानाथ शर्मा घिमिरे र नारायणप्रसाद सापकोटा छन्।
उनीहरूको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता असार ६ गतेलाई तोकिएको छ।
