मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

नक्कली भिसा प्रकरण: अध्यागमनका कम्प्युटर अपरेटर पक्राउ, राजस्व हिनामिनाको आरोप

अध्यागमन विभागका कम्प्युटर अपरेटर राजीव महतो सरकारी प्रणालीको दुरुपयोग गरी नक्कली भिसा जारी र राजस्व हिनामिना गरेको आरोपमा पक्राउ परेका छन्। उनले लक्जेम्वर्ग र अमेरिकी नागरिकको भिसा प्रक्रियामा १२०० अमेरिकी डलरभन्दा बढी राजस्व हिनामिना गरेको आशंका छ। सीआईबीले थप अनुसन्धान गरिरहेको छ।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
नक्कली भिसा प्रकरण
Share:
१६८

काठमाडौँ। अध्यागमन विभागका कम्प्युटर अपरेटर राजीव महतो सरकारी प्रणालीको दुरुपयोग गरी गैरकानुनी भिसा जारी र राजस्व हिनामिना गरेको आरोपमा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रौतहट घर भएका ३० वर्षीय महतोलाई ललितपुरबाट नियन्त्रणमा लिएको हो।

तत्कालीन कम्प्युटर अपरेटरका रूपमा महतोले ‘नेपाली पोर्ट’ प्रणालीमा आफ्नो पहुँचको दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ। उनले पदको दुरुपयोग गरी विदेशी नागरिकलाई भिसा शुल्क नै नलिई भिसा जारी गरी सरकारी राजस्व हिनामिना गरेको आरोप छ।

महतोमाथि लक्जेम्वर्गका नागरिकको भिसा जारी गर्दा नियमअनुसार लाग्ने १ हजार २ सय अमेरिकी डलर (करिब १ लाख ५९ हजार ४०८ रुपैयाँ) राजस्व दाखिला नगरी सरकारी कागजात कीर्ते गरेको आरोप छ। उनले ‘ट्राभल सेन्ट्रलाइजेसन सिस्टम’ मार्फत अमेरिकी नागरिकको नाममा समेत गैरकानुनी भिसा सिर्जना र स्वीकृत गरेको अभियोग छ।

काठमाडौँ जिल्ला अदालतको पक्राउ अनुमतिमा महतोलाई बिहीबार ललितपुरको महालक्ष्मी नगरपालिका–५, टीकाथलीबाट नियन्त्रणमा लिइएको हो। पक्राउ परेका महतोमाथि ‘लिखत सम्बन्धी कसुर’ मा थप अनुसन्धान गर्न ब्यूरोको हिरासतमा राखिएको सीआईबीका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रका आधारमा ब्यूरोले यो अनुसन्धान अघि बढाएको थियो।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार