वैदेशिक रोजगारीका क्रममा ठगी, घरेलु हिंसा र श्रम स्वीकृतिसम्बन्धी समस्या लिएर बिर्तामोड नगरपालिकामा आउने सेवाग्राहीको सङ्ख्या बढेको छ। कुवेतजस्ता मुलुकमा घरेलु हिंसामा परेका महिला तथा एजेन्टबाट ठगिएका सेवाग्राही कानुनी परामर्शका लागि नगरपालिकामा आउने गरेका छन्।
रोजगार संयोजक होमनाथ भट्टराईका अनुसार विसं २०८० यता करिब दुई हजारभन्दा बढीले वैदेशिक रोजगारीसम्बन्धी परामर्श लिएका छन्। वार्षिक चार सयदेखि पाँच सय जना श्रम स्वीकृतिको सहजीकरणका लागि रोजगार सेवा केन्द्रमा आउने गर्छन्।
भिजिट भिसामा विदेश गई काम गर्ने प्रवृत्ति बढेको छ। सामाजिक सञ्जालका आकर्षक विज्ञापनको भरमा प्रक्रिया अघि बढाउँदा ठगीका घटनामा वृद्धि भएको छ। युरोप पठाइदिने भ्रामक प्रचारले युवाहरु आर्थिक र कानुनी समस्यामा पर्ने गरेका छन्।
भट्टराईले श्रम स्वीकृति लिएर मात्र विदेश जानुपर्नेमा जोड दिए। स्वीकृतिबिना जाँदा कानुनी समस्या आउँछ। यसले बिमा, सामाजिक सुरक्षा र कल्याणकारी कोषका सुविधाबाट वञ्चित गराउँछ।
नगरपालिकाको रोजगार सेवा केन्द्रले श्रम स्वीकृतिको आवेदन, कागजात तयारी र अनलाइन प्रक्रियामा सहजीकरण गर्छ। वैदेशिक रोजगारीमा रहेका श्रमिक बिरामी परेमा समन्वय गर्छ। श्रमिकका परिवारलाई बोर्डबाट आर्थिक सहायता दिलाउन सहजीकरण गर्छ।
