मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

गोरखामा बाढीले मनास्लु पदमार्ग र दुई पुल बगायो, पर्यटक अलपत्र

उत्तरी गोरखामा बाढीले मनास्लु पदमार्ग र दुई पुल बगाएको छ। लार्केपास यात्रा ठप्प भएको छ र सयौं पर्यटक अलपत्र परेका छन्। दुई लघुजलविद्युत् आयोजना बगाउँदा विद्युत्, इन्टरनेट र सञ्चार सेवा ठप्प भएको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
मनास्लु पदमार्ग बाढी
Share:
१२३

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-४ नाम्रुङमा बूढीगण्डकी र थेराङ खोलामा आएको भीषण बाढीले दुई वटा पुल र दुई लघुजलविद्युत् आयोजना बगाएको छ। बाढीले मनास्लु पदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रशासन कार्यालय गोरखाले अर्को सूचना नआएसम्म मनास्लु पदमार्ग र लार्केपास यात्रामा रोक लगाएको छ। शरदकालीन सिजन सुरु हुनै लाग्दा पदमार्ग टुटेपछि लार्केपासतर्फ निस्किएका सयौं पर्यटक बीच बाटोमै अलपत्र परेका छन्।

यस सिजनमा ३२ टोलीका ३६७ आरोहीले हिमाल आरोहणको अनुमति लिएका छन्। मनास्लुका लागि मात्र २९ टोलीका ३४८ आरोही छन्। पुल बगाएपछि मनास्लु आरोहण र पदयात्रा तालिका नराम्ररी प्रभावित बनेको छ।

जिल्ला प्रशासन कार्यालयले यात्राको तयारीमा रहेका वा यात्रामा निस्किसकेका सबैलाई थप सूचना नआएसम्म यात्रा रोक्न आग्रह गरेको छ।

बाढीले ठूलो भौतिक संरचना ध्वस्त पारे पनि मानवीय क्षति भने नभएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

जलविद्युत् बगेपछि त्यस क्षेत्रमा विद्युत्, इन्टरनेट तथा सञ्चार सेवा पूर्ण रूपमा ठप्प बनेको छ।

नाम्रुङका स्थानीय लाक्पा डुन्डुपका अनुसार गाउँको दुवैतर्फका पुल बगेपछि स्थानीय र पर्यटक गाउँमै थुनिएका छन्। ‘बाढीपहिरोले हामीलाई चरम सङ्कटमा पार्‍यो,’ उनले भने, ‘गाउँबाट तल जाने पुल पनि लग्यो, माथि जाने पुल पनि बगायो। कतै आउजाउ गर्न सकिने अवस्था छैन।’

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार