भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी जग्गामा निर्माण गरिएका ट्रेड युनियन भवन तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ।
सरकारले ट्रेड युनियन व्यवस्था खारेज गर्दा संगठनको कानुनी आधार समाप्त भएको मन्त्रालयले जनायो। मन्त्रिपरिषद्को निर्णय तथा श्रम विभागबाट ट्रेड युनियन दर्तासमेत खारेज भइसकेको छ।
मन्त्रालयले सोमबार जारी सूचनाअनुसार, संगठनहरूले तीन दिनभित्र भवन खाली गर्नुपर्नेछ। कागजात, सम्पत्तिको जिम्मेवारी र भवनको साँचो आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउनुपर्नेछ।
तोकिएको समयमा खाली नगरे कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ। जिल्ला प्रशासन कार्यालयको रोहवरमा संगठनका भवनमा सूचना टाँसिएको छ।
यो निर्देशन स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ तथा मधेशी स्वास्थ्यकर्मी फोरम नेपाललगायत आठ वटा साविकका संगठनका हकमा लागू हुनेछ।
