NM Khabar 13 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भारी वर्षाको सम्भावना, बाढीपहिरोको जोखिम बढ्नेबारे सतर्कता

आइतबार र सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा मधेश प्रदेशका तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ। बाढी, पहिरो, डुबान र भू–कटानको जोखिम बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। उद्धार तथा प्रतिकार्यका लागि सुरक्षा निकाय र सरोकारवालालाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
Kamala Devi
Kamala Devi
12 July 2026, 7:02 am १ मिनेट पढाइ
आकार:
भारी वर्षाको सम्भावना
Share:

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले आइतबार र सोमबार देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना औंल्याएको छ। सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असार २८ गते आइतबार र २९ गते सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा भारी वर्षा हुनेछ। मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अति भारी वर्षा अनुमान गरिएको छ।

यस वर्षासँगै अकस्मात् बाढी, पहिरो, भू–कटान, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्नेछ। आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ। बाढी आउन सक्ने खोला, खहरे तथा नदी आसपास यात्रा नगर्नुहोला। पहिरोको जोखिम भएका क्षेत्र र नदी किनारका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न भनिएको छ।

पूर्वतयारी तथा प्रतिकार्यमा संलग्न साझेदार संस्थालाई जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर काम गर्न आग्रह गरिएको छ। आपत्कालीन अवस्थामा बाढी तथा वर्षासम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता नम्बर १२३४, नेपाल प्रहरी १०० तथा सशस्त्र प्रहरी बल १११४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

सर्वसाधारणलाई जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी नियमित रूपमा पछ्याउन पनि आग्रह गरिएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार