काठमाडौँ । अविरल वर्षा र पहिरोले काठमाडौँ उपत्यकालाई देशका अन्य भागसँग जोड्ने मुख्य राजमार्ग ठप्प पारेको छ। उपत्यका प्रवेशका लागि त्रिभुवन राजपथ मात्र सञ्चालनमा छ। तर, त्यहाँ सवारीसाधनको चाप अत्यधिक बढेको छ।
विपत्तिले उपत्यकालाई ‘नाकाबन्दी’को अवस्थामा पुर्याएको छ। यसको ठूलो प्रभाव दैनिक आपूर्ति शृङ्खलामा पर्ने देखिएको छ। प्रशासनले अत्यावश्यक बाहेक लामो दुरीका सवारी साधनमा रोक लगाएको छ। सयौँ मालवाहक तथा यात्रुवाहक सवारी साधन सडकमा रोकिएका छन्। हजारौँ यात्रु बिचल्लीमा परेका छन्। आपूर्ति प्रभावित हुँदा बजारमा महँगी र अभावको त्रास बढेको छ।
पहिरो र सडक भासिने क्रम नरोकिएपछि प्रशासनले मुख्य राजमार्गमा अनिश्चितकालका लागि सवारी आवागमनमा रोक लगाएको छ। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नारायणगढ सडक धादिङ खण्डका ५ स्थान पूर्ण रूपमा अवरुद्ध छन्।
बेनीघाट रोराङका कृष्णभिर, तिग्राडखानी, ज्यामिरेघाट र ज्वाङखोला तथा गजुरीको परेवा भिरमा पहिरो खसेको छ। नागढुंगा–मुग्लिन सडक योजनाका अनुसार कृष्णभिरमा ग्याबिन वाल झरे पनि मुख्य ट्र्याक सुरक्षित छ। तर, अन्यत्रको पहिरोले त्यहाँसम्म पुग्न सकिने अवस्था छैन।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार बेनीघाट रोराङ–७ कृष्णभिर, बेनीघाट रोराङ–१० तिग्राडखानी, बेनीघाट रोराङ–९ ज्यामिरेघाट, गजुरी–२ परेवा भिर र बेनीघाट रोराङ–१० ज्वाङखोलामा सडक अवरुद्ध छ। कृष्णभिरमा ढुंगासहित पहिरो खसेपछि सडक दुईतर्फी बन्द छ। ढुंगा खस्ने क्रम नरोकिएपछि पहिरो पन्छाउने काम रोकिएको छ। तिग्राडखानी र ज्यामिरेघाटमा पनि पहिरोले सडक दुईतर्फी अवरुद्ध छ। गजुरी–२ को परेवा भिरमा रुखसहित पहिरो खसेकाले सडक एकतर्फी अवरुद्ध छ। ज्वाङखोलामा ढुंगासहित पहिरोले सडक एकतर्फी बन्द छ।
धादिङमा निरन्तर वर्षा भइरहेको छ। प्रशासनले अत्यावश्यक कामबाहेक लामो दुरीको यात्रा नगर्न आग्रह गरेको छ।
चितवनको इच्छाकामना–४, धारापानीमा सडक भासिएको छ। मुग्लिन–नारायणगढ खण्डमा दिउँसो खुलाइएको बाटो सुरक्षाका कारण पुनः बन्द गरिएको छ। तनहुँको मुग्लिन–पोखरा खण्डका विभिन्न स्थानमा पहिरोले यातायात प्रभावित छ।
बीपी राजमार्ग र कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध छन्। कान्ति लोकपथअन्तर्गत गोदावरीको बिर्खेंधारा, बागमतीको पाङदुरडोल, टाकुर्चे र छपेलीमा पहिरो आएर सडक बन्द छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाउने दाबी गरेका थिए। तर, निरन्तरको झरीले काम प्रभावित भएको छ।
बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिकास्थित चारसयबेँसी र गिम्दीबेँसीमा पहिरो खस्दा राजमार्ग अवरुद्ध छ। रोशी खोलाले सतर्कता तह पार गरेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ। प्रशासनले यो राजमार्गमा सवारी सञ्चालनमा पूर्ण रोक लगाएको छ।
बिहीबार राति ८ बजेदेखि काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधनलाई नागढुङ्गामै रोकिएको छ। उपत्यका ट्राफिक प्रहरीले साना सवारीलाई दक्षिणकाली–फाखेल सडक खण्ड र टोखा–छहरे हुँदै नुवाकोटतर्फ पठाइरहेको छ। दक्षिणकाली–सिस्नेरी सडक वर्षाले अवरुद्ध छ। काठमाडौँ भित्रिनका लागि मकवानपुरको पालुङ हुँदै त्रिभुवन राजपथबाट चल्ने सवारीलाई एकतर्फी गरिएको छ। यसले लामो जाम सिर्जना गरेको छ।
त्रिभुवन राजपथमा सवारी आवागमनका लागि समयतालिका लागू गरिएको छ। ठुला सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले आलोपालो प्रणालीअन्तर्गत समयतालिका निर्धारण गरेको हो। महेन्द्र र पृथ्वी राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारी चाप बढेको छ।
हेटौँडाबाट काठमाडौँतर्फ जाने सवारीका लागि असोज ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म समय तोकिएको छ। असोज १० गते शनिबार बिहान ४ बजेदेखि ८ बजेसम्म र राति १० बजेदेखि असोज ११ गते बिहान २ बजेसम्म सञ्चालन गर्न सकिनेछ।
काठमाडौँबाट हेटौँडातर्फ आउने सवारीका लागि असोज ९ गते शुक्रबार साँझ ७ बजेदेखि राति ११ बजेसम्म, असोज १० गते शनिबार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म र असोज ११ गते आइतबार बिहान ७ बजेदेखि ११ बजेसम्म समय निर्धारण गरिएको छ।
प्रशासनले ठुला मालवाहक सवारी सञ्चालनमा समेत रोक लगाएको छ। इन्धन र एलपी ग्यास बोकेका सवारीबाहेक ठुला मालवाहक सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ। १० चक्केभन्दा लामा र १५ टनभन्दा बढी भार भएका सवारीलाई रोक लगाइएको छ। ११ मिटरभन्दा लामो बसलाई मात्र सञ्चालनको अनुमति दिइएको छ।
लुम्बिनी प्रदेशमा बुटवल–पाल्पा सडकखण्डअन्तर्गत सिद्धबाबा मन्दिर नजिकै पहिरोले यातायात अवरुद्ध छ। पाल्पाको तिनाउ–५ स्थित चरचरे र जोरधाराबिच पनि पहिरोले सडक बन्द छ। गुल्मीको कालीगण्डकी करिडोर र रोल्पाको घोराही–थवाङ सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध छन्।
कोशी प्रदेशमा ओखलढुंगाको सिद्धिचरण लोकमार्गअन्तर्गत मानेभञ्ज्याङस्थित भँडारे खोलामा लेदोसहितको बाढीले करिब १५ मिटर सडक बगाएको छ। सुनसरीको चतरा–बराहक्षेत्र सडक पनि पहिरोले रोकिएको छ।
बागमती प्रदेशका पासाङल्हामु राजमार्ग, मैलुङ–स्याफ्रुबेशी सडक र कालुपाण्डे राजमार्ग पनि बाढी र पहिरोका कारण ठप्प छन्।
सडक विभागले देशभरका जोखिमयुक्त खण्डहरूमा २४० भन्दा बढी हेभी मेसिनरी स्ट्यान्डबाई राखेको छ। पहिरो गएर सडक अवरुद्ध भएमा आधा घण्टाभित्र उपकरण पुग्ने र दुई घण्टाभित्र सडक सञ्चालन गर्ने नीति छ। तर, निरन्तरको वर्षाले सडक खुलाउन नसकेको सडक विभागले जनाएको छ। मेसिन सञ्चालनमा इन्धन अभाव हुन नदिन ४८ घण्टालाई पुग्ने डिजेल फिल्डमा पठाइएको छ। इन्जिनियर, सब–इन्जिनियर, सुपरभाइजर र मेसिन अपरेटरहरूलाई २४ घण्टा फिल्डमै खटाइएको छ। सरकारी स्रोतसाधन अपुग भएमा निजी क्षेत्रका उपकरण भाडामा लिने संयन्त्र तयार पारिएको छ।
